काठमाडौं– प्रदेश १ का अधिकांश पालिकाको मतपरिणाम सार्वजनिक भइसकेको छ। यस प्रदेशका १३७ वटा पालिकाहरुमध्ये अब तीन वटा पालिकाको मात्रै नतिजा सार्वजनिक हुन बाँकी छ।
सार्वजनिक भएको मतपरिणामले आगामी जिल्ला समन्वय समितिको गठन कुन प्रकारले हुनेछ भन्ने धेरथोर संकेत गरेको छ। जिल्ला समन्वय समितिको प्रमुख र उपप्रमुखसहितका पदाधिकारीका लागि जिल्लाभरका सम्पूर्ण पालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखले मतदान गर्न पाउँछन्।
सम्बन्धित जिल्लामा जुन दलले बहुमत संख्यामा अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख जितेको छ, उसैले चाहे अनुसारको जिल्ला समन्वय समिति गठन गर्न सक्नेछ।
जिल्ला समन्वय समितिमा एक प्रमुख, एक उपप्रमुख, तीन जना महिला र कम्तीमा एक जना दलित वा अल्पसंख्यक सदस्यसहित बढीमा नौ जना सदस्य रहेको जिल्ला समन्वय समिति हुने व्यवस्था छ।
ताप्लेजुङ
ताप्लेजुङमा नौ वटा पालिका छन्। त्यसैले त्यहाँ जम्मा अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको संख्या १८ हुनेछ। सार्वजनिक भएका मतपरिणाम अनुसार, कांग्रेसले ६, एमालेले ६, माओवादी केन्द्रले ५, एकीकृत समाजवादीले १ ले अध्यक्ष, उपाध्यक्ष, प्रमुख वा उपप्रमुख जितेका छन्।
यहाँ बहुमतको लागि १० मत चाहिन्छ। जुन कुनै पनि दलले एक्लै पुर्याउन सक्ने सम्भावना देखिँदैन। सत्ता गठबन्धन आबद्ध दलहरुले भने सहजै बहुमत जुटाउन सक्नेछन्।
पाँचथर
पाँचथरमा ८ पालिका छन्। त्यसैले त्यहाँ अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखको संख्या १६ हुनेछ। सार्वजनिक भएको मतपरिणाम अनुसार त्यहाँ कांग्रेसका ७, एमालेका ३, माओवादी केन्द्रका ६ अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख निर्वाचित भएका छन्।
यो जिल्लामा पनि कुनै दलको बहुमत पुग्दैन। बहुमतको लागि ९ मत चाहिन्छ। बहुमत नभएकाले कुनै पार्टीले एकल रुपमा जिल्ला समन्वय समिति बनाउने देखिँदैन। तर, सत्ता गठबन्धनमा रहेका पाटीले गठबन्धन गरेमा भने सहज हुने देखिन्छ।
इलाम
इलाममा १० पालिका छन्। त्यसैले यहाँ मताधिकार २० जना अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुखसँग हुनेछ। सम्पूर्ण पालिकाको मत गणना सकिँदा नेकपा एमालेले १०, जसपाले १, कांग्रेसले ८ र एकीकृत समाजवादीले २ अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख निर्वाचित भएका छन्।
सार्वजनिक मत परिणाम हेर्दा जिल्ला समन्वय समितिका लागि बहुमत जुटाउन आवश्यक १० मत एमालेले पाएको छ। त्यसैले, जिल्ला समन्वय समिति एमालेको एकल हुनेछ।
झापा
झापामा १५ वटा पालिका छन्। त्यसैले त्यहाँका मतदाता ३० जना हुनेछन्। यहाँका सबै पालिकाको अन्तिम परिणाम आइसकेको छ। झापामा कांग्रेसले ९, एमालेले १७, राप्रपाले ४ अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख जितेका छन्।
झापामा जिल्ला समन्वय समिति एकल निर्माण गर्नका लागि १६ जना बहुमत आवश्यक हुन्छ। यहाँ एमालेले एक्लै जिल्ला समन्वय समिति बनाउने देखिन्छ।
संखुवासभा
संखुवासभामा १० पालिका छन्। त्यहाँका सबै पालिकाको नतिजा सार्वजनिक भइसकेको छ। त्यहाँका मतदाता २० छन्। बहुमतका लागि ११ चाहिन्छ।
संखुवासभामा कांग्रेसले ९, एमालेले ८, नेकपा एकीकृत समाजवादीले २ र माओवादी केन्द्रले १ वटा अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख जितेका छन्।
यहाँ बहुमतका लागि कुनै पनि पार्टीले जितेको पद पर्याप्त छैन। त्यसैले त्यहाँ कुनै पार्टीबीच समन्वय आवश्यक हुन्छ। सत्ता गठबन्धनमा रहेको कांग्रेस, नेकपा एकीकृत समाजवादी र माओवादी केन्द्रले समन्वय गरेमा भने जिल्ला समन्वय समिति गठबन्धनकै बन्न देखिन्छ।
तेह्रथुम
तेह्रथुममा ६ पालिका छन्। त्यसैले यहाँ १२ मतदाता छन्। बहुमतका लागि ७ जना चाहिन्छ।
सार्वजनिक भएका ६ पालिकाको नतिजाअनुसार कांग्रेसले ६, एमालेले ५, माओवादी केन्द्रले १ अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख जितेका छन्।
यहाँ कुनै पार्टीको बहुमत हुने अवस्था देखिएको छैन। त्यसैले जिल्ला समन्वय समिति गठनको लागि तालमेल आवश्यक हुनेछ।
भोजपुर
भोजपुरमा ९ पालिका छन्। यस जिल्लामा १८ मतदाता छन्। बहुमतका लागि १० चाहिन्छ।
भोजपुरमा कांग्रेसले ७, एमालेले ६, माओवादी केन्द्रले ४, स्वतन्त्रले १ अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख जितेका छन्। जिल्ला समन्वय समिति गठनका लागि यहाँ कसैको बहुमत पुग्दैन। त्यसैले तालमेल आवश्यक बन्छ।
धनकुटा
धनकुटामा ७ पालिका छन्। यहाँ १४ मतदाता छन्। यहाँ जिल्ला समन्वय समिति एकल बनाउन ८ मत हुन आवश्यक हुन्छ।
सार्वजनिक भएका मतपरिणाममध्ये कांग्रेसले ४, एमालेले ९, माओवादी केन्द्र १ अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख जितेका छन्।
सार्वजनिक मत परिणाम हेर्दा धनकुटामा जिसस बनाउनका लागि आवश्यक बहुमत एमालेले प्राप्त गरेको छ। त्यसैले यहाँ एमालेको जिसस बन्नेछ।
मोरङ
मोरङमा १७ पालिका छन्। यहाँ ३४ मतदाता छन्। यहाँ जिल्ला समन्वय समिति एकल बनाउन १८ मत हुन आवश्यक हुन्छ।
सार्वजनिक भएका मतपरिणाममध्ये कांग्रेसले १२, एमालेले २१, माओवादी केन्द्रले १ अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख जितेका छन्।
सार्वजनिक मत परिणाम हेर्दा मोरङ जिसस बनाउनका लागि आवश्यक बहुमत एमालेले प्राप्त गरेको छ। त्यसैले यहाँ एमालेको जिसस बन्नेछ।
सुनसरी
सुनसरीमा १२ पालिका छन्। यहाँ २४ मतदाता छन्। यहाँ जिल्ला समन्वय समिति एकल बनाउन १३ मत हुन आवश्यक हुन्छ।
सार्वजनिक भएका मतपरिणाममध्ये कांग्रेसले १३, एमालेले ८, माओवादी केन्द्रले १, जसपाले १ र स्वतन्त्रले १ अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख जितेका छन्।
सार्वजनिक मत परिणाम हेर्दा सुनसरी जिसस बनाउनका लागि आवश्यक बहुमत कांग्रेसले प्राप्त गरेको छ। त्यसैले यहाँ कांग्रेसको जिसस बन्नेछ।
सोलुखुम्बु
सोलुखुम्बुमा ८ पालिका छन्। यहाँ १६ मतदाता छन्। यहाँ जिल्ला समन्वय समिति एकल बनाउन ९ मत हुन आवश्यक हुन्छ।
सार्वजनिक भएका मतपरिणाममध्ये कांग्रेसले १०, एमालेले ३, माओवादी केन्द्रले ३ अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख जितेका छन्।
सार्वजनिक मत परिणाम हेर्दा सोलुखुम्बु जिसस बनाउनका लागि आवश्यक बहुमत कांग्रेसले प्राप्त गरेको छ। त्यसैले यहाँ कांग्रेसको जिसस बन्नेछ।
खोटाङ
खोटाङमा १० पालिका छन्। यहाँ २० मतदाता छन्। यहाँ जिल्ला समन्वय समिति एकल बनाउन ११ मत हुन आवश्यक हुन्छ।
सार्वजनिक भएका मतपरिणाममध्ये कांग्रेसले १०, एमालेले ४, माओवादी केन्द्रले ४, एकीकृत समाजवादीले १ र जसपाले १ अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख जितेका छन्।
सार्वजनिक मत परिणाम हेर्दा खोटाङमा जिल्ला समन्वय समिति गठनका लागि यहाँ कसैको बहुमत पुग्दैन। त्यसैले तालमेल आवश्यक बन्छ।
ओखलढुंगा
ओखलढुंगामा ८ पालिका छन्। यहाँ १६ मतदाता छन्। यहाँ जिल्ला समन्वय समिति एकल बनाउन ९ मत हुन आवश्यक हुन्छ।
सार्वजनिक भएका मतपरिणाममध्ये कांग्रेसले ८, एमालेले ५, माओवादी केन्द्रले १, स्वतन्त्र १ र जसपाले १ अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख जितेका छन्।
सार्वजनिक मत परिणाम हेर्दा ओखलढुंगामा जिल्ला समन्वय समिति गठनका लागि कसैको बहुमत पुग्दैन। त्यसैले तालमेल आवश्यक हुनेछ।
उदयपुर
उदयपुरमा ८ पालिका छन्। यहाँ १६ मतदाता छन्। यहाँ जिल्ला समन्वय समिति एकल बनाउन ९ मत हुन आवश्यक हुन्छ।
सार्वजनिक भएका मतपरिणाममध्ये कांग्रेसले ५, एमालेले ३, माओवादी केन्द्रले ३, एकीकृत समाजवादीले १ अध्यक्ष, उपाध्यक्ष, प्रमुख र उपप्रमुख जितेका छन्।
उदयपुरका दुई पालिकामा मत परिणाम आउन बाँकी छ, जसमा ४ मत रहेको छ। मत परिणाम आउन बाँकी कटारी नगरपालिकामा प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमालेको अग्रता छ भने त्रियुगा नगरपालिकाको प्रारम्भिक मत परिणाम नै आउन बाँकी छ।
अग्रता लिएकै पार्टी निर्वाचित भएमा पनि उदयपुरमा जिसस बनाउन कसैको बहुमत पुग्दैन। त्यसैले यहाँ पनि तालमेल आवश्यक बन्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।