काठमाडौं– नेपाली फुटबल टिमले एएफसी एसिया कप २०१९ छनोट अन्तर्गत एक महिनाको बीचमा ताजकिस्तानसँग दोस्रो पटक प्रतिस्पर्धा गर्दै छ । असोज २४ मा ताजकिस्तानको हिसोर सेन्ट्रल रंगशालामा हुने खेलका लागि नेपाली टिम शुक्रबार त्यसतर्फ प्रस्थान गरेको छ।
एक महिनाको बीचमा दोस्रो पटक प्रतिस्पर्धा गर्न लागेको नेपाललाई अवसर र चुनौती दुवै छ । गत भदौ २० मा भएको खेलमा नेपाललाई ताजकिस्तानले २–१ ले पराजित गरेको थियो । आफ्नो घरेलु मैदानमा पराजित भएको नेपालले अब ताजकिस्तानलाई उसको मैदानमा पराजित गर्न सके मात्र नेपालको एसिया कपमा छनोट हुने सम्भावना बाँकी रहनेछ। बराबरी वा हारले नेपालको छनोट यात्रा गणितीय सम्भावनामै सीमित हुनेछ।
एक महिनाअघि मात्र ताजकिस्तानसँग खेलेकाले नेपालले ताजकिस्तानको खेल रणनीति बुझेको छ । आफ्ना गल्ती सुधार गरे नेपालका लागि जित टाढा नभएको सहायक प्रशिक्षक राजुकाजी शाक्य बताउँछन् । नेपालले आफ्नो स्तर अनुसारको प्रदर्शन गरेको बताउँदै आएका शाक्य जस्तै राष्ट्रिय टिममा पुनरागमन गरेका राजेन्द्र रावल पनि एक महिनाअघि खेलले नेपाललाई फाइदा पुग्ने बताउँछन्।
नेपाल समूह 'एफ' को अंक तालिकाको पुछारमा छ । खेलेका ३ मध्ये नेपाल २ खेलमा पराजित भएको छ भने १ खेलमा बराबरी खेलेको छ । समूहमा १ अंक मात्र भएकाले नेपालका लागि २४ असोजमा ताजकिस्तान विरुद्धको खेलमा महत्वपूर्ण मात्र होइन, निर्णायक पनि छ । शीर्ष स्थानको फिलिपिन्सले ७, दोस्रो स्थानको यमनले ५ तथा तेस्रो स्थानको ताजकिस्तानले ३ अंक जोडेका छन् । समूहका शीर्ष २ टिम २ वर्षपछि यूएईमा हुने एसिया कपमा छनोट हुनेछन्।
नेपालको समस्या फिनिसिङमा देखिएको छ । नेपालका जापानी प्रशिक्षक ग्योतोकु कोजी खेलाडीले जिम्मेवारी अनुसार खेल्न नसकेकोमा असन्तुष्ट छन् । खेलाडीले रणनीति अनुसार खेल्न नसकेको बताउँदै आएका कोजीले हाल नेपाली टिमको संरचना फेरेका छन् । यसअघिको ४–४–२ को रणनीति परिवर्तन गर्दै कोजीले ३–४–३ को संरचना ताजकिस्तान विरुद्ध प्रयोग गर्न सक्नेछन्।
नेपाली टिमको मुख्य समस्या मिडफिल्डमा बल खेलाउने तर ‘अट्याकिङ थर्ड’ मा बल उपलब्ध गराउन नसक्ने छ । अट्याकिङ थर्ड’ मा बल उपलब्ध गराए पनि फरवार्ड पोजिसिङमा नबस्दा गोल हुन सकिरहेको छैन । मिडफिल्डमा बल ‘होल्ड’ गरेर राखे पनि विपक्षी टिमलाई दबाव महसुस हुने गरी गतिलो पास निकाल्न सक्ने हो भने नेपालले ताजकिस्तानसँगको दोस्रो खेलमा पनि सकारात्मक नतिजा निकाल्न नसक्ने पक्का छ।
ताजकिस्तान उड्नुअघि नेपाली टिमका कप्तान विराज महर्जनले नेपालको अग्रपंक्तिमा प्रशिक्षकले विशेष ध्यान दिएको बताए । 'हामीले पछिल्ला खेलमा गोल गर्न सकिरहेका छैनौं', विराजले भने, 'त्यसैले फरवार्ड लाइनमा विशेष ध्यान दिएर प्रशिक्षण गरेका छौं।'
विराजले ताजकिस्तान विरुद्ध कमजोरी सुधार गर्दै जित निकाल्ने बताए।
'२ खेल हार्यौं भन्दैमा डराउनुपर्ने अवस्था छैन, बाँकी रहेका तीन खेलमा राम्रो गर्न सक्यौं भने छनोट सम्भावना हुनेछ', विराजले भने, 'हाम्रो पहिलो प्राथमिकता जित हो।'
नेपाली टिम:
गोलकिपर– किरणकुमार लिम्बु, विकेश कुथु, एलन न्यौपाने
डिफेन्डर– कमल श्रेष्ठ, आदित्य चौधरी, अनन्त तामाङ, देवेन्द्र तामाङ, विराज महर्जन, जितेन्द्र कार्की, राजेन्द्र रावल, दिनेश राजवंशी
मिडफिल्डर– सुनिल बल, हेमन गुरुङ, रोहित चन्द, अञ्जन विष्ट, विक्रम लामा, विशाल राई, हेमन्त थापामगर, सुजल श्रेष्ठ
फरवार्ड– विमल घर्तीमगर, जर्जप्रिन्स कार्की, नवयुग श्रेष्ठ, भरत खवास
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।