काठमाडौं (एजेन्सी)– भारतीय युवा खेलाडी सिक्किमका कोमल ठटाललाई इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडले आँखा लगाएको छ। क्लबका प्रतिनिधिहरु उनको खेल हेर्न भारत आएको कोलकाताबाट प्रकाशित हुने पत्रिका बंगाली दैनिकले लेखेको छ।
फिफा युथ–१७ विश्वकप फुटबल शुक्रबारदेखि भारतको राजधानी नयाँ दिल्लीको जवहारलाल रंगशालाबाट सुरु भएको छ। प्रतियोगिताको उद्घाटन भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका थिए। भारतले आफ्नो पहिलो खेल शुक्रबार नै अमेरिकासँग खेल्दैछ। प्रतियोगितामा २४ देश समावेश छन्।
ठटाल भारतीय युथ–१७ टिमका प्रमुख खेलाडी हुन्। १० नम्बर जर्सीमा उत्रिने उनी सिक्किमको नाम्चे एकेडेमीका उत्पादन हुन्। मिडफिल्डर ठटालले गत वर्ष गोवामा सम्पन्न भएको ब्रिक्स च्याम्पियनसिपमा ब्राजिलविरुद्ध गोल गरेका थिए। यसपछि उनको अन्तर्राष्ट्रिय चर्चा भएको थियो।
सम्बन्धित सामग्री - प्लास्टिकको बल बनाएर फुटबल खेल्ने सिक्किमे ठिटो भारतको विश्वकप टिममा
उनको खेल हेर्न म्यानचेस्टर युनाइटेडको स्काउट टोली भारतमा आएको बंगाली दैनिकले बताएको छ। म्यानचेस्टरको स्काउट टोलीले रायन गिग्स, पाउल स्कोल्स, गेरी नेभिल्स, मार्कुस रसफोर्डजस्ता अनगिन्ती खेलाडीको खोजी गरिसकेको छ। स्काउटको नजरमा परेको खण्डमा ठटालले म्यानचेस्टर युनाइटेडको एकेडेमीमा बसेर फुटबल सिक्न पाउनेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।