आयो कम्पन जीर्ण यो हृदयमा भूकम्पको चाल त्यो!
राजा तत्क्षणमै गएर नभमा अन्याय, बेहाल भो!
भो एकै क्षणको महामिलन त्यो छन् सम्झना केवल!
मेरो जीवन नासियो नियतिले खाली भयो देवल।
(१)
यो सानो शिशुको मुहार कसरी होला यहाँ उज्ज्वल?
बिर्सूँ झैँ किन लाग्छ दग्ध मनमा उर्लिन्छ कालो जल!
बस्दैछन् धरणी गुमेर नभको लालित्य नौलो कला!
छोइन्नन् अब यी भएर एकली चित्कारकी अप्सरा!
(२)
मेरो हंस थियौ उडेर कसरी आकाश ताकी गयौ?
मेरो अंश थियौ पवित्र दिलमा एक्कासि थाकी गयौ!
छैनौ आज तिमी परन्तु सधवा बन्ने गए ती दिन!
अल्प्यौ भानु तिमी ल हेर! विधवा धर्ती बनिन् निर्जन!
(३)
आऊ जीवन हे! घुमेर भवको कालो हटाई तिमी।
लाऊ एक मुठी पियार दिलको आलो बनाई जुनी।
त्यो हाम्रो रसिलो महामिलनको सम्झेर सन्जीवनी!
देऊ दर्शन दिव्य शान्त मनले सम्झेर यो सङ्गिनी!
(४)
फुर्के बालकको छ दोष र कुनै हान्यौ विधाता किन?
यो एक्ली चिडिया निराश विचरी पार्यौ विधाता किन?
धर्के सिन्दुरमा म खोज्छु ममता भेटिन्न के ईश्वर?
लेखेको विधिले ललाटतलमा मेटिन्न के लौ भन?
(५)
तिम्रो बास कहाँ छ एक मनको बत्ती उज्यालो हुने?
तिम्रो आश नगर्नु खै म किन हो! स्वामी तिमी अल्पिने?
छैनौ देह तिमी परन्तु मनमा आई बसे लक्षण!
यौटा मात्र थियौ परन्तु अरु ता छैनन् कुनै सज्जन!
(६)
यो कस्तो ममता सबै दिलतिरै बन्ने तिमी सुन्दर!
बोलीमा मृदुता भएर अहिले बस्छौ सबैका घर!
बोली जीवन हो र भोलि यसले संसार हल्लाउँछ!
बोली बुद्ध बने समस्त भवमा सम्मान नै पाउँछ!
(७)
सश्वर वाचन:
कवि डी.सी. पद्मोदय पब्लिक नमूना उच्च मावि, भरतपुर, दाङका पूर्वप्रधानाचार्य हुन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।