काठमाडौं–काठमाडौँको बुढानीलकण्ठ नगरपालिकामा ५५ मतदान केन्द्र राखिने भएको छ। बुढानीलकण्ठमा यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि १९ मतदानस्थलमा ५५ मतदान केन्द्र राखिने नगरपालिकाका निर्वाचन अधिकृत चमिला भट्टराइले जानकारी दिइन्।
नगरपालिकामा ६७ पदका लागि २८५ जनाले उम्मेदवारी दिएका छन्। जसमध्ये नगरप्रमुखमा १५ र उपप्रमुखमा ६ जनाले उम्मेदवारी दिएको भट्टराइले बताइन्।
उनले निर्वाचनमा खटाउने मतदान अधिकृत, सहायक मतदान अधिकृत र कर्मचारीलाई तालिमसमेत प्रदान गरिसकेको बताइन्। यस्तै, निर्वाचन कार्यालयले चुनाव चिह्न वितरण, परिचयपत्र वितरण, सवारी पास वितरण, मतदान केन्द्र र मतदानस्थलको अनुगमन, आचारसंहिताको अनुगमनलगायत काम गरिरहेको उनको भनाइ छ।
काठमाडौँको उत्तरी क्षेत्रमा अवस्थित चपली, भद्रकाली, खड्का भद्रकाली, चुनिखेल, महाङ्काल, बूढानीलकण्ठ र कपन गाउँ विकास समिति मिलाएर बनाइएको यो नगरपालिकामा १३ वडा रहेका छन्। काठमाडौँको दोस्रो ठूलो नगरपालिका बूढानिलकण्ठमा स्थानीय तह निर्वाचनका लागि कूल ४८ हजार ३०३ मतदाता रहेको निर्वाचन कार्यालय बूढानीलकण्ठले जनाएको छ।
स्थानीय तहको निर्वाचनका लागि यहाँको प्रमुखमा नेपाली कांग्रेसबाट प्रमुखमा विनोद चालिसे र उपप्रमुखमा रमिला वाग्ले, एमालेबाट नगरप्रमुखमा मीठाराम अधिकारी र उपप्रमुखमा अनिता लामा तथा माओवादी केन्द्रबाट नगरप्रमुखमा डम्बरप्रसाद अधिकारी तथा उपप्रमुखमा कमला गौतमले उम्मेदवारी दिएका छन्। २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा बूढानीलकण्ठ नगरपालिकाको प्रमुखमा एमालेका उद्धव खरेल र उपप्रमुखमा पनि एमालेकै रमादेवी राइ विजयी भएका थिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।