काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले चितवनको भरतपुर महानगरपालिकामा रेणु दाहाललाई मेयरको उम्मेदवार बनाउन माओवादी केन्द्रका अध्यक्ष प्रचण्डलाई आफूले नै जोड दिएको बताएका छन्।
आफ्नी छोरी समेत रहेकी रेणुलाई प्रचण्डले दोहोर्यान नचाहेको भएपनि आफूले नै रेणुलाई मेयरको उम्मेदवार बनाउन जोड दिएको देउवाको भनाइ छ।
‘राम्रो काम गर्या छ, किन हटाउने भनेर मैले नै भनेको हो,’ शुक्रबार सत्ता गठबन्धनले काठमाडौंमा आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले भने,‘राम्रो काम गर्ने महिलालाई किन हटाउने, दिनुहास्, मैले भनें।’
देउवाले प्रचण्ड बडो सजिलो मान्छे भएको भन्दै प्रशंसा समेत गरे। प्रचण्डको प्रशंसा गर्दै देउवाले भने,‘प्रचण्डजी धेरै फेक्जिबल मान्छे, कुनै झगडा सगडा गर्नु पर्दैन, भइहाल्यो भन्नुहुन्छ।’
कांग्रेस सभापति समेत रहेका देउवाले काठमाडौं महानगरको मेयरमा सिर्जना सिंहलाई उम्मेदवार बनाउन पनि आफूले नै जोड दिएको बताए। आफ्नी श्रीमती समेत रहेकी सिर्जनालाई उम्मेदवार बनाउने विषयमा नेता प्रकाशमान सिंह डराएको भएपनि आफूले नै जोड गरेर टिकट दिएको देउवाको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।