काठमाडौं- सत्ता गठबन्धनले आसन्न स्थानीय तहको निर्वाचनमा वीरगञ्ज महानगरपालिकाका लागि घोषणापत्र सार्वजनिक गरेको छ। शुक्रबार सार्वजनिक घोषणापत्रमा वीरगञ्जका शिक्षा, स्वास्थ्य, रोजगारीदेखि भौतिक निर्माणसम्मका विषय समेटिएका छन्।
चौतर्फी आवागमन हुने घण्टाघर चोकमा ट्राफिक व्यवस्थापन गर्न 'ओभर ब्रिज' निर्माण गरिने घोषणापत्रमा उल्लेख छ। त्यस्तै छुट्टाछुट्टै बुँदामा वीरगञ्जलाई शैक्षिक हब र मेडिकल हबको रुपमा विकास गरिने प्रतिबद्धता जनाइएको छ।
'गरिब तथा विपन्न नागरिकको बिजुली र पानीको न्यूनतम शुल्क महानगरले व्यहोर्ने व्यवस्था मिलाइने छ। नगर क्षेत्रमा नयाँ सार्वजनिक शौचालय निर्माण र जीर्ण शौचालयको मर्मत गरी प्रयोगमा ल्याइने छ। सहरभरि माकुराको जालो झैँ जेलिएका टेलिफोन, ईन्टरनेट तथा टेलिभिजन सेवा प्रदायकहरूका तार र जथाभावी राखिएका होर्डिङ बोर्ड व्यवस्थित गरिने छ', घोषणापत्रको बेग्लाबेग्लै बुँदामा भनिएको छ।
त्यस्तै, प्लास्टिकको कालो झोलाको प्रयोग न्यूनीकरण गर्दै सबै प्रकारका प्रदूषण नियन्त्रण गर्नुका साथै वीरगञ्जलाई खुला दिसामुक्त गरिने भनिएको छ। 'वीरगञ्ज विश्वविद्यालय निर्माणका लागि यसअघि नै उठेको रकमको खोजी गरी यथाशीघ्र विश्वविद्यालय निर्माणको काम अघि बढाउन पहल गरिने छ। ठाकुरराम क्याम्पसको भौतिक संरचना, पुस्तकालय, खेलकुद सामग्री तथा उपकरणको उचित व्यवस्थापन गरिने छ', घोषणापत्रमा भनिएको छ।
ग्रेटर वीरगञ्जको अवधारणालाई मूर्त बनाउन योजनाहरू तय गरी लागू गरिने भनिएको छ। 'भारतीय सिमावर्ती सहर रक्सौलसँग सहकार्य गरी वीरगञ्जलाई मैत्री सहरको रुपमा विकास गरिने छ', घोषणापत्रमा भनिएको छ।
वीरगञ्ज महानगरपालिकामा सत्ता गठबन्धनका तर्फबाट मेयरमा जसपाका राजेशमान सिंह र उपमेयरमा कांग्रेसका इम्तियाज आलम उम्मेदवार छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।