काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले अहिलेको गठबन्धन वर्षौंसम्म जानुपर्ने बताएका छन्। शुक्रबार काठमाडौंमा आयोजित सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै देउवाले गठबन्धन वर्षौंसम्म जानुपर्छ र जाने बताए।
अहिलेको संवैधानिक व्यवस्थाअनुसार कुनै पनि पार्टीले एकल बहुमत ल्याउन नसक्ने भएकाले गठबन्धन आवश्यक भएको देउवाको तर्क छ। ‘अहिले नमिले कसैले पनि बहुमत ल्याउँदैन। त्यसैले यो गठबन्धन वर्षौंसम्म जानुपर्छ र जान्छ,’ देउवाले भने।
पार्टीभित्र मतभेद हुने भएपनि त्यसलाई मिलाएर जानुपर्ने देउवाको भनाइ छ।
गठबन्धनको पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)को प्रशंसा गर्दै देउवाले उनलाई 'सहज मान्छे' भएको बताए। प्रचण्डलाई कुनै पद नचाहिने र ल भैगो नि त भनेर लचकता देखाउने देउवाको भनाइ छ।
गठबन्धन एकजुट भएर अघि बढ्नुपर्ने बताउँदै प्रधानमन्त्री देउवाले भरतपुरमा रेणु दाहाल र काठमाडौं महानगरपालिकामा सिर्जना सिंहलाई जिताउनुपर्ने बताए।
नेता प्रकाशमान सिंहको श्रीमतीको रुपमा हेरेर हुने टिप्पणीप्रति आपत्ति जनाउँदै देउवाले भने, 'बाबु–आमाले विवाह प्रकाशमान सिंहसँग गर्दिए त सिर्जनाको के दोष?' सिर्जना सक्षम महिला भएकाले उनलाई एकजुट भएर मत दिन देउवाले अपिल गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।