काठमाडौं- निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका उम्मेदवारहरुले गरिरहेको खर्च अनुमान गरी पठाउन मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतहरुलाई आयोगले निर्देशन दिएको छ।
'निर्वाचन प्रचार प्रसारका सम्बन्धमा भएका आमसभा, जुलुस, हेलिकप्टरको प्रयोग जस्ता महत्त्वपूर्ण क्रियाकलापको सम्बन्धमा सूक्ष्म रुपमा अनुगमन गरी वा गर्न लगाई खर्च विवरण अनुमान गर्न सकिने भएमा सो समेत गरी मतदान हुने दिन अर्थात मिति २०७९।१।३० भन्दा अगावै गोप्य रुपमा आयोगमा पठाउन' निर्देशन दिएको हो।
निर्वाचन प्रचार प्रसारको सम्बन्धमा हुने महत्वपूर्ण खर्चको विवरण पहिले नै सङ्कलन गर्दा उम्मेदवारले निर्वाचन परिणाम घोषणा भए पछि पेश गर्ने निर्वाचन खर्चको विवरणको वास्तविकता तथा विश्वसनीयता परीक्षण गर्न सहज हुने भएकोले त्यस्तो विवरण पठाउन निर्देशन दिइएको शुक्रबार जारी प्रेस विज्ञप्तिमा भनिएको छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।