काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रतिगामी दक्षिणपन्थी गठबन्धनविरुद्ध सबै एकजुट हुनुपर्ने बताएका छन्।
शुक्रबार काठमाडौंमा सत्ता गठबन्धनले आयोजना गरेको चुनाव सभामा बोल्दै उनले यस्तो बताएका हुन्।
‘अहिले दुईवटा गठबन्धनबीचको कुरा छ। एउटा प्रतिगामी दक्षिणपन्थी गठबन्धन छ। त्यसको नेतृत्व नेकपा एमालेले गरिरहेको छ। केपी ओलीले गरिरहेका छन्,’उनले भने,‘त्यहाँ राप्रपा जस्ता राजावादी शक्तिहरु त्यो गठबन्धनमा सामेल छन्। विदेशीका सामु लम्पसार पर्नेहरु छन्। संविधान विरोधीहरु त्यस गठबन्धनमा छन्।’ उनले अर्कोतर्फ प्रगतिशिल गठबन्धन रहेको भन्दै संविधान रक्षा गर्ने, समाजवादको बाटोमा अगाडी बढ्ने शक्तिलाई मत दिएर विजय गराउनु जरुरी रहेको छ।
‘झुटा आश्वासन र नक्कली कुरा गर्नेहरुको कुनै पनि काम छैन। त्यस्तो प्रलोभनमा कोही पनि फस्नु जरुरी छैन,’ नेपालले भने,‘हाम्रा उम्मेदवारले उठाएका विषयलाई कार्यान्वयन गर्नुपर्ने छ। उहाँहरुले पनि असल आचरणलाई ध्यानमा राखेर विकास निर्माणको काममा केन्द्रीत हुनु जरुरी हुन्छ।’
उनले गठबन्धनका तर्फबाट बनेका साझा उम्मेदवारलाई मत दिएर विजय गराउने तर्फ ध्यान दिनुपर्ने बताए।
‘काठमाडौंको फोहोरको समस्या यहाँ मात्रै होइन देशभरीको होला। यसको व्यवस्थापनका विषयमा विदेशमा के कसरी गर्दा रहेछन त्यो पनि हेरेर अध्ययन गर्नुपर्छ,’उनले भने,‘तर, जस्तो विकास निर्माणको काम भए पनि सबै जिम्मेवार हुनु जरुरी हुन्छ।’
उनले प्रगतिशिल गठबन्धनलाई देशैभर जिताउनका लागि सबै जनतालाई उत्प्रेरित गर्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।