काठमाडौं– स्थानीय तह निर्वाचनका क्रममा विभिन्न पालिकाहरुमा गठबन्धनका दलहरु बीचमा असमझदारी सिर्जना भएमा आपासी समन्वयमा समस्यालाई तत्काल समाधान गर्न सचिवालय क्रियाशील रहने भएको छ।
नेपाली कांग्रेस स्थानीय तह निर्वाचन केन्द्रीय परिचालन समिति सचिवालयका संयोजक एवं केन्द्रीय सदस्य नानु बास्तोलाको अध्यक्षतामा गठबन्धनमा सामेल राजनीतिक दलका सचिवालय पदाधिकारी एवं सदस्यहरुबीचको बैठकले यस्तो निर्णय गरेको हो। बैठक नेपाली कांग्रेसको केन्द्रीय कार्यालयमा बसेको थियो।
स्थानीय तह निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, भयरहित र सौहार्द तवरले सम्पन्न गराउनका लागि गठबन्धनमा रहेका सबै राजनीतिक दलबीच आपसी समन्वय र समझदारीका आधारमा अगाडि बढाउन प्रतिवद्ध रहने पनि बैठकले निर्णय गरेको छ।
‘गठबन्धनमा रहेका दलहरुबीच आपसी समझदारीमा दिइएका उम्मेदवारविरुद्ध गठबन्धन भित्रैका दलबाट दर्ता भएका उम्मेदवारी तत्काल निष्क्रिय गराउन आवश्यक पहल गर्न सम्बन्धित दलको नेतृत्व समक्ष आग्रह गर्ने, यस्ता उम्मेदवारका बारे हरेक दलले एक अर्कालाई जानकारी गराउने,’ निर्णयमा भनिएको छ।
स्थानीय तह निर्वाचनका क्रममा विभिन्न पालिकाहरुमा गठबन्धन दल बाहेक अन्य राजनीतिक दलहरुसँग असहमति वा असझदारी उत्पन्न भएको परिस्थितिमा गठबन्धनमा रहेका दलहरुबीच मतैक्यता कायम गरी समस्या समाधान गर्न सचिवालय क्रियाशील रहने पनि निर्णय भएको छ।
बैठकमा नेपाली कांग्रेसका नानु बाँस्तोला, नेकपा माओवादी केन्द्रका डोरप्रसाद उपाध्याय, नेकपा एकीकृत समाजवादीका लक्ष्मण केसी, जनता समाजवादी पार्टीका लालबहादुर तामाङ र राष्ट्रिय जनमोर्चाका हिमलाल पुरी सहभागी थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।