काठमाडौं–प्रहरी महानिरीक्षक (आईजीपी) बढुवा प्रकरणविरुद्ध परेको रिटमा अन्तरिम आदेश नदिन माग गर्दै महान्यायाधिवक्ता खम्मबहादुर खातीले बहस गरेका छन्।
रिट निवेदक एआईजी विश्वराज पोखरेलको पक्षमा अन्तरिम आदेश दिएर चुनावको मुखमा प्रहरीलाई शून्य बनाउन नहुने उनको तर्क थियो।
महान्यायाधिवक्ता खातीले भने, ‘श्रीमान् वैशाख ३० गते चुनाव छ। चुनावको मुखमा अन्तरिम आदेश दिएर प्रहरीलाई सुन्य (नेतृत्वबिहिन) नबनाऔं।’ खातीले पोखरेललाई प्रहरी संगठनको समेत माया नभएको जिकिर गरे।
एसपीसम्म हालका आईजीपी धीरजप्रताप सिंह नै अघि रहेको र एसपीबाट बढुवा हुने क्रममा पछि पारिएको समेत खातीले तर्क गरे।
आफू सिनियर हुँदा समेत छुटाएर जुनियरलाई आईजी बनाएको भन्दै एआईजीपी पोखरेलले दायर गरेको रिटमाथि सुष्मालता माथेमाको इजलासमा सुनुवाइ भइरहेको छ।
उक्त रिटमा सुनुवाइ सुरु हुनुअघि नै बढुवा भएका आईजीपी धीरजप्रताप सिंह पक्षले हस्तक्षेप बहस गर्ने निर्णय गरेको थियो। सरकारी वकिल र प्रहरी प्रमुखले केही निजी कानुन व्यवसायीसमेत राखेर सर्वोच्च हस्तक्षेप बहसमा पुगेको थियो।
योसँगै पहिलो सुनुवाइमै दोहोरो बहस हुने भएको छ। दूरगामी महत्त्वको रिटको पहिलो सुनुवाइमै सरिक भएर बहस गर्न पाउने अभ्यासअन्तर्गत सिंह पक्ष र सरकार सर्वोच्च पुगेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।