नयाँ दिल्ली– क्रिकेटबाट सन्यास लिइसकेका भारतका बिस्फोटक ब्याट्सम्यान वीरेन्द्र सहवाग फेरि एकपटक पाकिस्तान विरुद्ध चौका–छक्का प्रहार गर्दै गरेको मैदानमा देख्न सकिने भएको छ।
यस खेलमा पाकिस्तानका बुम–बुम क्रिकेटर शाहिद अफ्रिदी पनि देखा पर्नेछन्। अन्य वरिष्ठ खेलाडीमा श्रीलंकाका कुमार सांगाकारा पनि हुनेछन्।
यी तीनै बिस्फोटक ब्याट्सम्यानले अन्तर्राष्ट्रिय क्रिकेटबाट बिदा लिइसकेका छन्। तर, युनाइटेड अरब इमिरेट्स (युएई) मा आयोजना हुन लागेको टि–१० लिगमा उनीहरु आफ्ना प्रशंसकलाई मनोरञ्जन गराउँदै गरेको भेटिनेछन्। लिग आउँदो डिसेम्बरदेखि सुरु हुँदैछ।
लिग १०–१० ओभरको हुनेछ। दुवै टिमले ४५–४५ मिनेटको समय पाउनेछन्। विश्वमा चुलिँदो टि–२० क्रिकेट लिगको लोकप्रियतापछि युएईले टि–१० को नयाँ अवधारणा सुरु गर्न लागेको लिगका अध्यक्ष सलमान इकबालले जानकारी दिए। ‘आशा छ, यो ढाँचा पनि सबैलाई राम्रो लाग्नेछ,’ इकबालले भनेका छन्। खेल २१ देखि २४ डिसेम्बरसम्म हुने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।