कोलकाता– अर्जेन्टिनाका महान् फुटबलर डिएगो म्याराडोनाको कोलकाता भ्रमण चौथो पटक स्थगित भएको छ। भारतका पूर्व क्रिकेट कप्तान सौरभ गांगुलीको टिमविरुद्ध ९ अक्टुवर (आउँदो सोमबार) आयोजना हुन लागेको ‘म्याच फर युनिटी’ खेलका लागि उनी आइतबार कोलकाता आउने कार्यक्रम थियो।
तर, सुरक्षाका कारण उनको भ्रमण बिहीबार स्थगित भएको जानकारी आयोजकले दिए। म्याराडोनाले पनि आफ्नो फेसबुकमा यसको जानकारी दिँदै आउँदो नोभेम्बरमा कोलकाता आउने बताएका छन्।
उनले भनेका छन्, ‘मेरो कोलकाता भ्रमणको अर्को सपना। अब यो नोभेम्बरमा पूरा हुनेछ। यो ठाउँ मेरा लागि सधैं विशेष छ। किनभने, यही ठाउँमा मदर टेरेसाले थुप्रै गरिब बच्चाको ध्यान राखेकी थिइन्। शिक्षा दिएकी थिइन्।’
आयोजकले विज्ञप्ति जारी गर्दै भनेको छ, ‘सुरक्षा अधिकारीले ८ अक्टुबरमा म्याराडोनालाई भ्रमणको अनुमति दिएनन्। त्यसैले ८–९ अक्टुवरको उनको भ्रमण रद्द गर्नुपर्यो। फिफा युथ–१७ विश्वकपको आयोजना र अन्य मुद्दाका कारण सुरक्षा अधिकारीले उच्चस्तरीय सुरक्षा दिन अस्वीकार गरेका छन्।’
म्याराडोनाको घोषित कोलकाता भ्रमण यसअघि तीन पटक स्थगित भएको थियो। उनी सेप्टेम्बरको अन्त्यमा पनि कोलकाता आउने कार्यक्रम थियो। यसपछि भ्रमण २ अक्टुबरमा राखिएको थियो। त्यो पनि स्थगित भएपछि नयाँ मिति ८ अक्टुबर राखिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।