काठमाडौं– बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर नबढाउने भएका छन्। वैशाख महिनाका लागि निक्षेपको ब्याजदर सार्वजनिक गर्दै बैंकहरुले पुरानै ब्याजदर कायम गर्ने भएका हुन्।
विभिन्न शीर्षकमा खर्च बढेकाले कर्जातर्फको ब्याजदर भने बढ्न सक्ने बैंकर संघका अध्यक्ष तथा कृषि विकास बैंकका सीईओ अनिल उपाध्यायले बताए।
प्रकाशित ब्याजदर अनुसार वैशाखमा अधिकांश बैंक तथा वित्तीय संस्थाहरूले बढाएका छैनन्। चैत महिनाकै ब्याजदरलाई वैशाखमा निरन्तरता दिएका छन्। कर्जातर्फ भने बेस रेट केही परिवर्तन हुन सक्ने उपाध्यायको भनाइ छ। मासिक मात्र नभएरत्रैमासिक समीक्षा अवधि भएकाले कर्जातर्फको ब्याज भने केही बढ्न सक्ने उनले बताए।
गत आइतबार सम्पन्न वाणिज्य बैंकहरूको छाता संस्था नेपाल बैकर्स एसोसिएसनको पूर्ण बैठकले वैशाखमा ब्याजदर नबढाउने निर्णय गरेको थियो।
यो निर्णयसँगै वाणिज्य बैंकहरूको वैशाखका लागि व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ११.०३ प्रतिशत र संस्थागतमा अधिकतम १०.०३ प्रतिशत ब्याज कायम हुने भएको छ।
यसैगरी विकास बैंक र फाइनान्स कम्पनीहरूले वैशाखमा ब्याजदर स्थिर राखेका छन्। राष्ट्रियस्तरका विकास बैंकहरूले वैशाखमा पनि व्यक्तिगत मुद्दतीमा अधिकतम ११.५५ प्रतिशत र संस्थागतमा अधिकतम १०.५५ प्रतिशत ब्याजदर निर्धारण गरेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।