काठमाडौं– नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले एमाले अध्यक्ष केपी ओलीले अन्य पार्टीलाई ढक भनेकोमा आपत्ति जनाएका छन्।
ओलीले केही दिन अघि आफ्नो पार्टीलाई क्वीन्टल र अन्य पार्टीलाई ढक भनेको उल्लेख गर्दै सम्मानित नेता खनालले आफ्नो पार्टी दशौं टनको बनिरहेको दाबीसमेत गरे।
शनिबार पार्टीद्धारा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले आफ्नो पार्टी दशौं टनको बन्दै गएको कुरा हेर्न जिल्ला–जिल्लामा जान पनि ओलीलाई चुनौती दिए।
उनले भने, ‘केपी ओलीले के भनेछन् भने उनको पार्टीलाई चाँही क्वीन्टल हामीहरुलाई चाँही ढक। म यही मञ्चबाट भन्न चाहन्छु–केपी ओलीजी तपाईंको पार्टी ढक हो कि तपाईंको पार्टी क्वीन्टल हो कि अथवा एकीकृत समाजवादी चाँहि टन हो, यहाँ आएर हेर्नुहोस्। प्रत्येक जिल्लामा गएर हेर्नुहोस्। अब नेकपा एकीकृत समाजवादी टन मात्रै होइन, दशौं टनको पार्टी बन्दैछ। यो कुरा केपी ओलीले बुझ्न जरुरी छ कमरेडहरु।’
खनालले सत्तारुढ पाँच दलीय गठबन्धनलाई कायमै राखेर स्थानीय तह निर्वाचनमा आफ्नो पार्टी जाने पनि स्पष्ट पारे। उनले निर्वाचनको घोषणा पत्र तत्काल आउने उल्लेख गर्दै त्यसलाई लिएर प्रचार अभियानमा जुटन पनि पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिए।
उनले भने, ‘हामी स्थानीय तहको निर्वाचनमा जाँदैछौं। यसका लागि स्थानीय तह निर्वाचनको घोषणा पत्र तुरुन्त ल्याउँदैछौं। त्यो घोषणा पत्रलाई हामीले घरघरमा, टोलटोलमा लिएर जान सक्नुपर्दछ। तपाई हामी सबैको अहिलेको कर्तव्य यो हो,’ उनले भने,‘अब हामीले निर्वाचनको व्यापक तयारी गर्नुपर्ने आवश्यक छ। अब हामीले उम्मेदवार चयन गर्नुपर्नेछ। अर्को पाँच दलीय गठबन्धनलाई कायमै राखेर अगाडि बढनु छ। चुनावी तालमेल गर्दै अगाडि पनि बढनुपर्नेछ। समाजवादको आधार तयार पार्नका लागि पनि स्थानीय तह निर्वाचनमा धेरै प्रतिनिधिहरु आफ्नो पार्टीको बनाउनुपर्ने हुन्छ। त्यसका लागि लागौं।’
समाजवादको आधार निर्माण गर्न पनि आफ्नो पार्टीका प्रतिनिधिहरुले आगामी स्थानीय तहको निर्वाचनमा धेरै ठाउँमा जित्नुपर्ने उनले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।