काठमाडौं- नेकपा (एकीकृत समाजवादी)का 'सम्मानित नेता' झलनाथ खनालले केपी शर्मा ओली प्रधानमन्त्री भएको बेलामा देशलाई दक्षिणपन्थी अवसरवादतिर लगेको बताएका छन्।
शनिबार पार्टीको जिल्ला कमिटी काठमाडौंद्वारा आयोजित जनसभामा सम्बोधन गर्दै उनले ओलीकै कारण देशलाई दक्षिणपन्थी अवसरवादको आहालमा डुबाउने खतरासमेत पैदा गरिएको बताए।
'उनले अमेरिकाको सेवाको सेवा गर्न थाले, विदेशी गुप्तचरहरुको प्रमुखहरुसँग आधा रातमा साँठगाँठ गर्न थाले। के कुरा गरे, आज दुई करोड ९२ लाख नेपालीलाई केही पनि थाहा छैन। हाम्रो परराष्ट्र मन्त्रालयलाई केही पनि थाहा छैन। खै 'मेमोरी'? कुनै पनि देशका प्रधानमन्त्रीले अरु देशमा मान्छेसँग कुरा गर्छन् भने 'मेमोरी' राख्ने चलन हुन्छ। त्यसलाई 'इन्स्टिच्युसनल मेमोरी' भनिन्छ। त्यो छैन', खनालले भने।
ओलीजस्ता गैरजिम्मेवार मान्छेको हातमा नेतृत्व पुगेको हुनाले देशले दुःख पाएको खनालको भनाइ छ। त्यस्तै, खनालले ४२ महिनासम्म सरकारमा बसेर ओलीले केही नगरेको पनि बताए।
'नेकपा एमालेको नेतृत्व गुटको नायक खड्गप्रसाद शर्मा ओलीको सरकारले एउटा फुटेको कौडी पनि गरेन। कुनै पनि काम गर्न सकेन', उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।