काठमाडौं- नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले टावर र गेटमा पैसा खर्च गर्न बन्द गर्नुपर्ने बताएका छन्। शनिबार पार्टीको दोलखा-काठमाडौं सम्पर्क मञ्चको भेलामा सम्बोधन गर्दै उनले टावर र गेटले खान र लाउन नदिने बताए।
उनले टावर र गेट बनाउँदा लागेको खर्च जोड्न आग्रह पनि गरे। 'आवश्यकता नभएको टावर बनाउने चलनलाई बन्द गरिदिनुपर्छ। त्यसमा खर्च हुने करोडौँ रुपैयाँले बरु हामीले दुई सय वटा परिवारलाई बिना ब्याजको पैसा दिएर लगानी गर्न लगायौँ भने कल्याण हुन्छ', उनले भने।
उनले अघिल्लो सरकारका पालामा पानीजहाजको चर्चा भएको भन्दै अहिले त्यो हिन्द महासागरमा डुबिसक्यो कि भन्दै व्यंग्य गरे। आफूहरु त्यस्ता हावादारी कुरामा लाग्न नचाहेको उनको भनाइ छ।
'मान्छेले पिउनका लागि पानी पाएका छैनन्। पानीको व्यवस्था गरिएन भने बिजोग हुन्छ। पढ्न पाएका छैनन्। पढ्न पाएनन् भने त्यो परिवार र बच्चाहरुको भविष्य कस्तो होला? हामीले अनुमान गर्नुपर्दैन?', नेपालको भनाइ छ, 'बरु प्राविधिक र व्यवसायिक शिक्षा हामीले दिऔँ। प्राविधिक तालिमहरु दिऔँ। तालिम प्राप्त गरेका युवाहरुले देशभित्र रोजगारी गरुन्। सय जना युवाहरुको टिम बनाउनुस्।'
अध्यक्ष नेपालले आफूहरु स्वच्छता र इमानदारिताको उदाहरण बन्न चाहेको बताए। 'राम्रो समाज बनाउनका लागि असल पालिका बनाउनका लागि व्यापक छलफल र बहसमा रमाउन चाहन्छौँ। नमूना नगरपालिका बनाउने कसरी? ती गाउँपालिका र नगरपालिकामा हुनुपर्ने न्यूनतम सुविधाका कुराहरु त्यो ठाउँमा विद्यमान छ कि छैन? हाम्रो ध्यान त्यहाँ जान्छ', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।