धनगढी– सुदूरपश्चिम प्रदेश सरकारमा नेपाली कांग्रेस पनि सहभागी हुने भएको छ। कांग्रेसबाट दुई मन्त्री र एक राज्यमन्त्री सरकारमा सहभागी हुन लागेका हुन्।
शुक्रबार बेलुकी उनीहरुले पद तथा गोपनियताको सपथ लिँदैछन्। नेकपा (एकीकृत समाजवादी) का दुई मन्त्री र राज्यमन्त्रीको ठाउँमा कांग्रेसको तर्फबाट मन्त्री बन्न लागेका हुन्।
एकीकृत समाजवादीको भागमा परेको आन्तरिक मामिला तथा कानुन मन्त्रालय र सामाजिक विकास मन्त्रालय कांग्रेसले पाएको छ। यी दुई मन्त्रालयमा क्रमशः कांग्रेस सुदूरपश्चिमका संसदीय दलका नेता डा रणबहादुर रावल र गोविन्दबहादुर बोहोरा मन्त्री बन्न लागेका हुन्।
यस्तै, सामाजिक विकास राज्यमन्त्रीमा टेकबहादुर रैका नियुक्त हुन लागेका हुन्। यसअघि आन्तरिक मामिलामा समाजवादीकी पूर्णा जोशी र सामाजिक विकासमा लालबहादुर खड्का मन्त्री रहेका थिए।
यता, राज्यमन्त्रीमा मनाकुमारी साउँद रहेकी थिइन्। एकीकृत समाजवादीको तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री रहेका तारालामा तामाङलाई पनि फिर्ता बोलाएको छ।
उनको स्थानमा प्रकाश रावललाई मन्त्री बनाउने तयारी भइरहेको छ। आज मध्यरातबाट नै स्थानीय तह निर्वाचनको आचारसंहिता लागू हुने भएपछि सुदूरपश्चिममा कांग्रेसलाई समेत सहभागी गराएर मन्त्रीपरिषद् हेरफेर गर्न लागिएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।