काठमाडौं– वैशाख ३० मा हुने स्थानीय तह निर्वाचनका लागि आज (शुक्रबार)देखि निर्वाचन आचारसंहिता लागू हुँदै छ। निर्वाचन आयोगले शुक्रबार पत्रकार सम्मेलन गर्दै मध्यरात (१२ बजे)देखि आचारसंहिता लागू हुने जनाएको छ।
वैशाख ३० गतेका लागि तय भएको स्थानीय तहको निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी बनाउन आयोगले सरकार, संवैधानिक निकाय, अर्धसरकारी संस्था, राजनीतिक दल, उम्मेदवार, सार्वजनिक पद धारण गरेको व्यक्ति, सञ्चारमाध्यम, पर्यवेक्षक, गैरसरकारी संस्था, विद्यालय र विश्वविद्यालयका शिक्षक तथा कर्मचारी, मतदातालगायतले पालना गर्नुपर्ने आचारसंहिता जारी गरिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।
निर्वाचन आयोगले चैत ३ गते निर्वाचन आचारसंहिता राजपत्रमा प्रकाशित गरेको थियो। उक्त आचारसंहिताको एक बुदाँमा भने सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ।
वहालवाला जनप्रतिनिधि भाग लिन नपाउने व्यवस्थाविरुद्ध सर्वोच्चमा परेको रिटमा अन्तरिम आदेश जारी भएको हो। आयोगले सामाजिक सञ्जालदेखि उम्मेद्वार र अन्यलाई निर्वाचनमा गर्न नपाउने व्यवस्था समावेश गरेर आचारसंहिता जारी गरेको छ।
आचारसंहिता लागू भएपछि वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत भएका बाहेकका कार्यक्रम गर्न, नयाँ नीति, योजना र कार्यक्रम घोषणा गरी स्वीकृत गर्न पाइने छैन। यस्तै, कुनै योजनाको शिलान्यास, उद्घाटन, सर्वेक्षण गर्न तथा अध्ययनका लागि अनुदान दिन समेत नपाइने आयोगले जनाएको छ ।
आचारसंहिता लागू भएपछि निर्वाचनको कामबाहेक कर्मचारीको सरुवा र पदस्थापन गर्न पाइने छैन। यस्तै, निर्वाचन आयोगको अनुमति बेगर सरकारी कर्मचारी र पदाधिकारी विदेश भ्रमणमा जान पाउने छैनन्।
प्रधानमन्त्री, केन्द्र तथा प्रदेश सरकारका मन्त्री/मुख्यमन्त्री, स्थानीय कार्यपालिकाका पदाधिकारीले आफ्नो निर्वाचन क्षेत्रमा बाहेक अन्य ठाउँमा कुनै दलको पक्ष वा विपक्षमा प्रचार गर्न नपाउने व्यवस्था पनि आचारसंहितामा उल्लेख गरिएको छ।
निर्वाचन आचारसंहिताको पूर्णपाठ:
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।