चितवन– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पञ्चायतविरोधी आन्दोलन र जनयुद्धको आधार पूर्वी चितवन रहेको बताएका छन्। पार्टीको रत्ननगर, खैरहनी र राप्ती नगरपालिका स्तरीय वैचारिक राजनीतिक प्रशिक्षण कार्यक्रममा बोल्दै उनले ‘आत्मियता’ दर्शाएका हुन्।
उनले भने,‘पञ्चायतविरोधी आन्दोलन र हाम्रो पार्टीको जनयुद्ध आधार पूर्वी चितवन थियो। पहिलो शान्तिवार्ताको क्रम सकिने बेलामा म पूर्व चितवन नै थिएँ। दाङ घोराही आक्रमण गर्ने योजना मैले पूर्व चितवनमै बनाएँ। ठूला कारबाही यही बनाएको हो। पार्टीका स्थायी समिति बैठक यहाँ गर्यो।’
उनले शान्तिवार्तामा आएपछि पूर्वी चितवन छायाँमा परेको जस्तो महसुस भएको बताए। यसमा पार्टी केन्द्रको ध्यान पनि नपुगेकोमा आत्मालोचना गरे।
उनले पञ्चायतीविरोधी आन्दोलन र जनयुद्धमा यो क्षेत्रको भूमिका सम्झेर गतिविधि बढाएर लैजान माओवादी केन्द्रका नेता कार्यकर्तालाई निर्देशन दिएका छन्। उनले यो क्षेत्रमा आगामी दिनमा आफ्नो सक्रियता बढ्ने आश्वासन दिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।