काठमाडौं– सरकारले श्रम अदालतको अध्यक्षमा न्यायाधीश बासुदेव आचार्यलाई तोकेको छ। बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले उच्च अदालत विराटनगरको ओखलढुङ्गा इजलासका न्यायाधीश आचार्यलाई श्रम अदालतको अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेको हो।
त्यस्तै, काठमाडौं उपत्यका विकास ऐन २०४५ को दफा २३ बमोजिमको पुनरावेदन समितिको अध्यक्ष पदमा अदालतको समेत कामकाज गर्ने गरी उच्च अदालत पाटनका न्यायाधीश महेश शर्मा पौडेललाई तोकेको छ।
राजश्व न्यायाधीकरण पोखराको कानुन सदस्य एवम् अध्यक्ष पदमा उच्च अदालत पोखराका न्यायाधीश रमेशप्रसाद भण्डारीलाई तोक्ने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए।
वैदेशिक रोजगार न्यायधिकरणको अध्यक्ष पदमा उच्च अदालत जनकपुर वीरगञ्ज इजलासका न्यायाधीश डा. रवि शर्मा अर्याललाई तोक्ने निर्णय गरेको छ। यस्तै, भूकम्पबाट प्रभावित संरचनाको पुनःनिर्माण सम्बन्धी ऐन २०७२ को दफा २६ को उपदफा २ बमोजिमको पुनरावेदन समितिको अध्यक्षमा अदालतको कामकाज समेत गर्ने गरी उच्च अदालत पाटनका न्यायाधीश बालेन्द्र रुपाखेतीलाई तोक्ने निर्णय गरेको छ।
सैनिक विशेष अदालतको अध्यक्षमा पदमा अदालतको कामकाजसमेत गर्ने गरी उच्च अदालत पाटनका न्यायाधीश महेशप्रसाद पुडासैनीलाई तोक्ने निर्णय गरिएको मन्त्री कार्कीले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।