काठमाडौं– प्याराग्लाइडिङ व्यवसायीको छाता संस्था नेपाल हवाई खेलकुद संस्था (ना)को आयोजनामा पोखरामा २०औं नेपाल खुला प्याराग्लाइडिङ प्रतियोगिता सुरु भएको छ।
पोखरा महानगरपालिका–१८ सराङकोटमा गण्डकी प्रदेशका प्रदेशसभा सदस्य राजीव पहारीले प्यारा पाइलट शिव थापालाई ग्लाइडर हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गरेका छन्।
सांसद पहारीले साहसिक पर्यटनका लागि उपयुक्त गन्तव्यका रुपमा रहेको जनाउँदै यस प्रतियोगिताले पोखरालाई साहसिक शहरको रुपमा चिनाउन थप सघाउ पुर्याउने विश्वास व्यक्त गरे।
पोखरा पर्यटन परिषद्का अध्यक्ष गोपीबहादुर भट्टराईले पोखराको प्राकृतिक सौन्दर्य हिम शृङ्खला र तालको सुन्दरतालाई दृश्यवालोकन गरेर आनन्द लिन सकिने प्याराग्लाइडिङले पोखराको पर्यटन प्रर्वद्धनमा ठूलो भूमिका खेलेको बताए।
प्रतियोगितामा सोलो ओभर अलतर्फ ३२ पुरुष र आठ महिला तथा टेन्डमतर्फ ३७ खेलाडीबीच प्रतिस्पर्धा भइरहेको संस्थाका महासचिव बलराम आचार्यले जानकारी दिए।
पोखरामा व्यावसायिकरुपमा सञ्चालन भएका ६० भन्दा बढी कम्पनी रहेको र करिब ३६६ प्याराग्लाइडिङ पाइलट रहेको ना अध्यक्ष कृष्ण भण्डारीले जानकारी दिए। कोभिड–१९ का कारण पछिल्ला दुई वर्ष प्रतियोगिता स्थगित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।