काठमाडौं- युक्रेनी राष्ट्रपति भ्लोदिमिर जेलेन्स्कीले रुसी सेनाहरू माथि बुचा सहर नियन्त्रणमा लिएका बेला सर्वसाधारणलाई यातना दिएको र मारेको आरोप लगाएका छन्।
किएभस्थित आफ्नो कार्यालयबाट देशवासीलाई सम्बोधन गर्ने क्रममा राष्ट्रपति जेलेन्स्कीले रुसी सेनाहरूले बुचा सहर नियन्त्रणमा लिएका बेला '३०० भन्दा बढी सर्वसाधारणलाई मारेको र यातना दिएको' आरोप लगाएका हुन्।
सम्बोधनका क्रममा जेलेन्स्कीले उक्त सहर रुसी सेनाले नियन्त्रणमा लिएका बेला गरेका कार्यहरूको अनुसन्धान हालसालै सुरु गरिएको बताएको बीबीसीले उल्लेख गरेको छ।
उनले हाल आफूहरूसँग बुचामा मात्रै ३०० भन्दा बढीलाई मारिएको र यातना दिइएको सूचना रहेको बताउँदै पुरै सहरमा अनुसन्धान गरिदाँ पीडितहरूको संख्या अझ बढ्न सक्ने उनको भनाइ छ।
उनले ८० वर्षअघि नाजीहरुले कब्जा गर्दा समेत नदेखिएका काम रुसी सेनाले गरेको आरोप लगाए।
बुचा सहित किएभ नजिक रहेका अन्य स्थानहरूको भ्रमण पश्चात् जेलेन्स्कीले रुसी सेनाले सहरहरू ध्वस्त पारेको, अपहरण गरेको, यातना दिएको अनि सर्वसाधारणहरूलाई मारेको प्रशस्त प्रमाण फेला परेको बताएका हुन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।