काठमाडौं– अन्तर्राष्ट्रिय ‘चेन होटल’का रुपमा रहेको शिन्तामणि होटलले नेपालमा आफ्नो सेवा दिने भएको छ। मुस्ताङको मोक्ष होटलको व्यवस्थापन लिँदै शिन्तामणि नेपाल प्रवेश गरेको हो।
शेर्पा हस्पिलाटिली ग्रुपअन्तर्गत सञ्चालन भइरहेको मोक्ष होटलको व्यवस्थापन अब शिन्तामणि होटलले गर्ने जनाइएको छ। शिन्तामणि होटलले विश्वका विभिन्न स्थानमा होटल सञ्चालन गर्दै आएको छ। यती समूहअन्तर्गत सञ्चालित विभिन्न होटलमध्ये मोक्ष होटल पनि एक चर्चित होटल मानिन्छ।
शिन्तामणि विश्व बजारमा जंगलका बीचमा महँगो होटल सञ्चालन गरेर ख्याति कमाएको ‘ब्राण्ड’ हो। रु एक अर्ब १० करोड लगानीमा निर्माण भई सञ्चालनमा रहेको सो रिसोर्टको व्यवस्थापन आगामी अक्टोबरदेखि शिन्तामणिले सम्हाल्ने गरी दुई पक्षीय सम्झौता भएको हो।
रिसोर्टको सम्पूर्ण व्यवस्थापन सम्हाल्ने गरी सम्झौता भएको यति ग्रुपका अध्यक्ष सोनाम शेर्पाले जानकारी दिए। सो ब्राण्डले खर्चालु पर्यटकका लागि लक्षित गरी निर्माण गरिएका होटल तथा रिसोर्टको व्यवस्थापन सम्हाल्दै आएको छ।
कम्पनीले न्यूनतम तीन दिनको बुकिङ लिने भएकाले १५ सयदेखि ३ हजार डलरसम्म एउटा कोठाको मूल्य निर्धारण गरी प्याकेज बिक्री हुने जनाएको छ। कोठा, हवाई स्थानान्तरण, गतिविधि, स्पा, खाना र पेय पदार्थ सबै प्याकेजमा समावेश हुने बताइएको छ।
अमेरिकन आर्किटेक बिल बेन्स्लीले शिन्तामणि होटल ब्रान्डको सुरु गरेका हुन्। कम्बोडियाको जंगल पर्यटनमा आफ्नो प्रयोग सफल भएको र नेपालमा पनि सफल हुने उनको विश्वास छ। विश्वभरका पर्यटकलाई थकाइ मार्ने मुख्य गन्तव्य जोमसोम बनाउने उद्देश्यका साथ काम सुरु गरिएको जनाइएको छ।
शेर्पा हस्पिटालिटी ग्रुपका प्रमुख कार्यकारी अधिकृत नाम्गेल शेर्पाले नेपाललाई विलासी साहसिक गन्तव्यको रूपमा विश्वबजारमा परिचित गराउन होटलले सहयोग पुग्ने विश्वास व्यक्त गरे।
कोभिड–१९ महामारीका कारण लामो समयसम्म बन्द भएको मोक्ष होटलको व्यवस्थापनको जिम्मेवारी फेरिएसँगै नेपालमा खर्चालु पर्यटक बढ्ने अनुमान गरिएको छ।
महामारीका कारण दुई वर्ष होटलका लागि निकै चुनौतीपूण रहेको र अब होटललाई नयाँ ढङ्गले सञ्चालन गर्ने योजना अनुरुप शिन्तमणि होटलसँग सहकार्य गरिएको सिइओ शेर्पाको भनाइ छ।
मोक्ष होटल समुद्री सतहबाट दुई हजार ८ सय मिटरको उचाइमा रहेको छ । शिन्तामणि होटलले पछिल्लो समय कम्बोडियामा पनि आरामदायी होटल सञ्चालन गर्दै आएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।