नेपाल र भारतबीचको सम्बन्ध सदियौँ पुरानो हो। तर, पछिल्ला दुई वर्षमा यी देशबीचको सम्बन्धमा उतार–चढाव आयो। चिसोपना बढ्यो।
यही अवस्थामा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाको तीन दिने भारत भ्रमण भएको छ। यो भ्रमण दुवै देशका लागि सकारात्मक हो। भ्रमणमा मुख्य रूपमा नेपाल–भारतबीच रेल कनेक्सन, विद्युत्त कनेक्सन र पञ्चेश्वर परियोजनाबारे ठोस कुराकानी भएको देखियो। दुवै पक्षले जारी गरेको संयुक्त विज्ञप्ति हेर्दा दीर्घकालीन तरिकाले यस क्षेत्रमा काम गर्ने इच्छा देखाएको प्रष्ट भएको छ।
हामी र नेपाल सांस्कृतिक रूपमा पनि जोडिएका छौँ। अब डिजिटल र ‘कनेक्टिभिटी’को नयाँ सम्बन्ध विकास हुनुपर्ने कुरा यसले देखाएको छ। सन् २०२० मा नेपालले जब ‘चुच्चे नक्सा’ प्रकाशन गरेर त्यसलाई संसदबाट अनुमोदन गर्यो, त्यसपछि भारतको प्रतिक्रियाले नेपाल–भारत सम्बन्ध चिसिएको थियो। भारतले तत्कालै प्रतिक्रिया दिँदै यो स्वीकार नहुने भनेको थियो।
भारतीय विदेश सचिव हर्षवर्धन श्रृंगलाको नेपाल भ्रमण र नेपालका तत्कालीन परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीको भारत भ्रमणले उक्त समस्यालाई केही सुधार गरेको थियो। अहिले दुई देशका प्रधानमन्त्रीस्तरीय भेटमा नेपालका प्रधानमन्त्री शेरबहादुर देउवाले सीमा विवादको कुरा उठाए। उनले यसको समाधान जुन संयन्त्रमार्फत गर्न माग गरे, त्यसलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले साँच्चै गम्भीर रुपमा लिएको हुनुपर्छ। यो विवाद नेपाल र भारतबीचमा लामो समयदेखि रहँदै आएको छ।
दुई प्रधानमन्त्रीको भेटपछि विदेश सचिव हर्षवर्धन श्रृंगलाले आयोजना गरेको पत्रकार सम्मेलनमा पनि सीमाको कुरा उठेको जानकारी दिइएको थियो। उनले सीमा विवादलाई संयन्त्रमार्फत सम्बोधन गर्ने बताएकाले भारतीय पक्षले पनि यो विषयलाई गम्भीर रुपमा लिएको देखिन्छ। यो अब दुवै पक्षको चासो र समाधान गर्नुपर्ने कुरा भएको छ। सीमा विवादको विषयमा राजनीति हुन नदिन दुवै पक्ष सचेत हुनुपर्छ।
विगतमा भारतको सीमा विवाद बंगलादेशसँग पनि थियो। त्यो जसरी वार्ताबाट समाधान गरियो, अब नेपालसँग पनि त्यसैगरी समाधान गरिनुपर्छ। नेपाल र भारतबीच भएको सुगौली सन्धी वा अन्य कुनै सम्झौता हेरेर हाम्रो सुमधुर सम्बन्ध कायमै राख्ने गरी वार्ता हुन जरुरी छ। यसरी मात्र समाधान निस्कन्छ।
नेपाल–भारतबीच भएको सन् १९५०को सन्धिसहित यी दुई देशबीचको सम्बन्धमा चीन फ्याक्टर पनि छ। यी सबै कुरालाई वार्तामा राखेर समाधान खोज्नुपर्छ। हामीले यसलाई समाधान गर्न सफल भयौँ भने नयाँ मोडेल पनि हुनेछ। दक्षिण एसियाकै लागि नमूना हुनेछ।
दुवै देशबीच भएको डिजिटल भुक्तानीसम्बन्धी सम्झौताले पनि सम्बन्धलाई नयाँ आयाम दिनेछ।
नेपाल र भारतका बीचमात्र हुने सक्ने अर्को विषय हो, रामायण रुट। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले यो विषय उठाउँदै आएका छन्। जनकपुर–जयनगर रेलले यसको बाटो खोलेको छ।
भारतीय प्रधानमन्त्री मोदीले नेपाल–भारतको शान्ति र विकासबारे पनि कुरा गर्नुभएको छ। जनकपुर–कुर्था रेल मात्र नभइ सोलु करिडोर निर्माणबारे पनि कुराकानी भएको छ। यो राम्रो भएको छ।
त्यस्तै, नेपाल भारतका लािग महत्वपूर्ण रहेको पञ्चेश्वर परियोजनाको डीपीआर बनाउने विषयमा छलफल भएको छ। यसले धेरै सकारात्मक सन्देश दिएको छ। ग्यास र पेट्रोलियम पदार्थमा भएको सहमति तथा सोलार व्यवस्थामा नेपाललाई समावेश गर्ने कुरा पनि महत्वपूर्ण छ।
नेपालबाट आउने बिजुलीका लागि बंगलादेशदेखि भुटानसम्म बिक्री गर्ने बाटो खुलेको छ। यो नेपालका लागि ठूलो ‘गेम चेन्जर’को विषय हुनेछ। नेपालबाट भारत निर्यात हुने विद्युत्तका लागि पनि बाटो खुलेको छ। नेपालका प्रधानमन्त्री देउवाको यो भ्रमणले नेपालको हाइड्रोपावरमा भारतीयहरूलाई लगानी गर्ने बाटो पनि खोलिदिएको छ।
(भू–राजनीतिक विश्लेषक अनेजासँग अल इन्डिया रेडियोले गरेको कुराकानीको मुख्य अंश।)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।