काठमाडौं– प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा गर्ने सरकारको निर्णयविरुद्ध दायर भएको रिटको आज आइतबार सुनुवाइ तोकिएको छ। आइतबार सर्वोच्चका न्यायाधीश कुमार रेग्मीको एकल इजलासमा पेसी तोकिएको हो।
जुनियरलाई बढुवा गरेर सिनियरलाई छुटाएको भन्दै डीआईजी ईश्वरबाबु कार्कीलगायतले बढुवाको निर्णयविरुद्ध सर्वोच्च अदालतमा बिहीबार रिट दर्ता गराएका थिए।
चैत १ गते गृहसचिव नेतृत्वको बढुवा सिफारिस समितिले वसन्त पन्त, धीरजप्रताप सिंह र रवीन्द्र धानुकलाई बढुवाका लागि सिफारिस गरेको थियो। तर, आफूभन्दा जुनियर डीआईजीद्वय सिंह र धानुकलाई एआईजी बनाउन सिफारिस गरेको भन्दै उनीहरुले बढुवामाथिको उजुरी सुन्ने समितिमा उजुरी दिएका थिए।
उक्त उजुरीमाथि कारबाही गर्दै लोकसेवा आयोगका अध्यक्ष रहेको उजुरी सुन्ने समितिले बढुवा सिफारिस समितिको निर्णयलाई सदर गरेसँगै सरकारले समेत उनीहरुलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको थियो।
सोही दिन उनीहरुले फुली समेत लगाएर पदभार ग्रहण गरिसकेका छन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।