काठमाडौं– नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले आगामी स्थानीय तहको निर्वाचन पार्टीका लागि सामान्य निर्वाचन मात्र नभएको भन्दै पार्टीलाई जिताउनका लागि रातदिन नभनेर खटिन कार्यकर्तालाई निर्देशन दिएका छन्।
शुक्रबार काभ्रेमा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा प्रचण्डले यस्तो निर्देशन दिएका हुन्। उनले केपी ओलीले संविधान खारेज गरेर जनताले प्राप्त गरेका अधिकार उल्ट्याउने प्रयास गरेको भन्दै उनीजस्ता प्रतिगमनकारी शक्तिले जिते संविधान खतरामा पर्ने बताए।
‘उनको अहंकार र घमण्ड अझै तोडिएको छैन,’ प्रचण्डले भने, ‘आउने निर्वाचनमा हामी विजयी भएनौं भने देश दुर्घटनामा जान सक्ने खतरा छ।’
उनले स्थानीय निर्वाचनमा रातदिन खटेर जनतालाई माओवादीले स्थापित गरेका मुद्दाका बारेमा सचेत गराउनुपर्ने बताए। ‘केपी ओली खलनायक भएकाले कम्युनिस्ट आन्दोलनलाई एकताबद्ध गर्न सपना देखेका थियौं त्यो पूरा हुन सकेन,’ उनले भने, ‘उनकै खलनायकीपनले मुलुक बनाउने, देश विकास र सम्बृद्धिको सपना पूरा हुन सकेन।’
प्रचण्डले अहिले माओवादीमा जनलहर देखिएको भन्दै परिवर्तन ल्याउने र मुलुक बनाउने माओवादी नै हो भनेर मानिसहरूले बुझेको दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।