काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधव नेपाल कम्युनिस्ट नभई बर्कोमात्र ओडेको व्यक्ति भएको आरोप लगाएका छन्। अनेरास्ववियु केन्द्रिय कमिटीको प्रथम बैठक तथा विस्तरित भेलालाई सम्बोधन गर्दै शुक्रबार ओलीले यस्तो आरोप लगाएका हुन्।
कम्युनिस्ट पार्टीमा माधव नेपालजस्ता मानिसको काम नभएको उनले बताए। कम्युनिस्टको वर्को ओडेर मात्र नहुने भन्दै नेपालजस्ता मानिस बाहिरै जानु पर्ने उनले बताए।
‘आफ्नो सरकार ढालेर अहिले मलाई पनि चारवटा मन्त्रालय देउ न भन्ने कम्युनिस्ट हुन्छ ’ उनले भने ‘अहिले माधव नेपाल बालुवाटार हरेक दिन पुगेर गठबन्धन है गठबन्धन भन्ने गरेका छन्। यो गठबन्धन एमालेले रहन दिएसम्म रहने हो। यो गठबन्धन टुटाउन हावा खोल्दे मात्र पुग्छ।’
उनले नेपाली कांग्रेसले काम गर्ने शक्तिसँग इतिहासमा कहिल्यै पनि तालमेल नगर्ने दाबी गरे। कांग्रेसलाई राम्रो कामका लागि राम्रो शक्तिसँग मिल्न गारो हुने ओलीको आरोप थियो।
‘राम्रो गर्न कांग्रेसलाई तानेर यसो ल्यायो फेरि फुत्किहाल्छ’ उनले भने ‘२०६२–०६३ र संविधान जारी गर्ने बेला यहि गरिएको हो।’
उनले २००७ सालमा लोकतन्त्र आएको तर २००८ सालमा कम्युनिस्टामाथि प्रतिवन्ध लगाइएको भन्दै उनले अग्रगामी शक्ति र लोकतान्त्रिक शक्तिलाई प्रतिबन्ध लगाउने काम कांग्रेसले गर्ने बताए।
उनले २०१२ सालमा पशुपति नाथको कृपाले कांग्रेस ढलेर कम्युनिस्ट पार्टीमाथिको प्रतिवन्ध फुकेको भन्दै उनले चार वर्षसम्म तत्कालीन समयमा कांग्रेसले नै प्रतिबन्ध लगाएको आरोप लगाए।
ओलीले तुलसी गिरी र विश्ववन्धु थापाजस्ता कांग्रेसका मानिस राजासँग मिलेर लोकतन्त्रलाई मास्ने काम गरेको आरोप उनले लगाए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।