काठमाडौं– नेपाल आदिवासी जनजाति महासंघले आदिवासी, जनजातिको बासस्थानको संरक्षण गर्न सरकारसँग माग गरेको छ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विकासका नाममा आदिवासी जनजातिको थातथलो भताभुङ्ग पार्ने काम भइरहेको भन्दै महासंघले आदिवासी, जनजातिको बासस्थानको संरक्षण गर्न सरकारसँग माग गरेको हो।
महासंघका वरिष्ठ उपाध्यक्ष बुद्ध घर्तीले सरकारी वा निजी क्षेत्रले सुरु गर्ने नयाँ आयोजनाहरु आरम्भ गर्नुपूर्व सम्बन्धित क्षेत्रका समुदायले पूर्वसूसुचित हुन पाउनुपर्ने बताए। उनले स्थानीय र प्रदेश सरकारबाट आदिवासी जनजातिका नाममा विनियोजित बजेट अन्य शीर्षकमा खर्च गरेकोप्रति समेत आपत्ति बताए।
उनले आदिवासी र जनजातिको विकासका लागि छुट्याइएको बजेट सदुपयोग गर्न सरकारसँग माग गरे।
महासंघका अध्यक्ष गेल्जे लामा शेर्पाले सबै नेपालीले समान अवसर पाउनुपर्ने महासंघको माग रहेको बताए। उनले सबैले सबैको अस्तित्व स्वीर्कानुपर्ने भन्दै सबैले सबैको सम्मान गर्ने बलियो समाजको आधारस्तम्भ निर्माण गर्न आवश्यक रहेको बताए।
‘जनजाति महासंघको माग के छ भने हामी सबै एउटा साझा फूलबारीको फूल हौँ। हामीले समान अवसर पाउनुपर्छ। समान मलजल पाउनुपर्छ। समान तरिकाले फुल्न पाउनुपर्छ भन्ने हो’, अध्यक्ष शेर्पाले भने, ‘सबैले सबैको अस्तित्व पनि स्वीकार्नुपर्छ। सबैले सबैको सम्मान गर्ने बलियो समाजको आधारस्तम्भ निर्माण गर्नुपर्छ। म अब मेरो कार्यकालमा परिणाममुखी काम ल्याउँछु।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।