काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवा तीन दिने औपचारिक भारत भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री देउवा नेपाल वायुसेवा निगमको नियमित उडानबाट शुक्रबार दिउँसो १ बजेर २५ मिनेटमा नयाँदिल्ली प्रस्थान गरेका हुन्।
पाँचौं पटक प्रधानमन्त्री भएपछिको यो उनको पहिलो औपचारिक भ्रमण हो। स्वदेश फर्कनुअघि प्रधानमन्त्रीले भारतको वाराणसीको पनि भ्रमण गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
भ्रमण टोलीमा देउवा पत्नी आरजु राणा देउवासहित परराष्ट्रमन्त्री नारायण खड्कासहित चार मन्त्री, सचिवहरु तथा पदाधिकारीहरु सहभागी छन्। टोलीमा सरकारी उच्च अधिकारी, उद्योगी व्यवसायी, सञ्चारकर्मी गरी करिब ५० जना सहभागी छन्।
भ्रमणका क्रममा प्रधानमन्त्री देउवाले भारतका उपराष्ट्रपति बैङ्कैया नायडूसँग शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। चैत १९ गते भारतीय प्रधानमन्त्री मोदीसँग हैदरावाद हाउसमा प्रतिनिधिमण्डलस्तरीय वार्ता हुने कार्यक्रम छ।
नेपाल वायुसेवा निगमको एयरलाइन्सबाट चैत २० गते साँझ ६ बजेर १० मिनेटमा स्वदेश फिर्ता हुने कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।