काठमाडौं- अमेरिकी राष्ट्रपति जो वाइडेनले उच्च ऊर्जा मूल्यलाई घटाउने प्रयास स्वरूप अमेरिकी रणनीतिक भण्डारहरूबाट ठूलो परिमाणमा तेल निकाल्न आदेश दिएका छन्।
आउँदो ६ महिनामा १८ करोड ब्यारलसम्म तेल निकालिने बताइएको छ जुन सन् १९७४ मा त्यस्तो भण्डार सिर्जना गरिएयताकै उच्च भएको बीबीसीले जनाएको छ।
युक्रेनमाथि रुसको युद्धले सिर्जना गरेको आपूर्ति संकटमाझ वाइडेनको कदमका खबरहरू आउन थालेसँगै तेलको मूल्य घटेको छ।
तर विश्लेषकहरूले दैनिक १० लाख ब्यारलजति तेल निकालेर ऊर्जा संकट समाधान नहुने बताएका छन्।
यस्तो प्रयासले विश्वव्यापी अभावका लागि अस्थायी समाधान मात्र दिने तर रुसबाट रोकिएको आपूर्तिको अभाव पूर्ति नहुने विश्लेषकहरु बताउँछन्।
वाइडेनले अमेरिकी तेल आपूर्ति बढाउन थप कदमहरू चालिने बताएका छन्। उनले यो वर्षको अन्त्यसम्ममा आन्तरिक उत्पादन बढ्नुअघि पछिल्लो कदम एउटा सेतुको रूपमा काम गर्ने बताएका छन्।
रुस साउदी अरबपछिको संसारकै सबैभन्दा ठूलो तेल आपूर्तिकर्ता हो। ऊर्जाको बढ्दो मूल्य अमेरिकासहित अहिले संसारभर एउटा राजनीतिक मुद्दा बनेको छ।
त्यस्तै राष्ट्रपति भ्लादमिर पुटिनले शुक्रबारबाट हुने रुसी प्राकृतिक ग्यास आपूर्तिको भुक्तानी रुबलमा गर्न दिएको समयसीमालाई पश्चिमा सरकारहरूले अस्वीकार गरेका छन्।
पुटिनले पश्चिमा वित्तीय प्रणाली रुसविरुद्ध 'हतियारको रूपमा' प्रयोग भएको भन्दै त्यस्तो परिवर्तन आवश्यक परेको बताएका थिए। जर्मनी, फ्रान्स र अस्ट्रिया सबैले मस्कोको मागलाई धम्कीपूर्ण 'ब्ल्याकमेल' भएको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।