काठमाडौं– बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले तीन प्रहरी नायब महानिरीक्षक (डीआईजी) लाई प्रहरी अतिरिक्त महानिरक्षिक (एआईजी) बढुवामा गर्ने निर्णय गरेसँगै प्रहरी महानिरीक्षक (आईजीपी) प्रतिस्पर्धीहरुको संख्या चार पुगेको छ।
गत फागुन १ गते उनीहरु तीन जनालाई एआईजी बनाउन सिफारिस गरेसँगै उजुरी सुन्ने समितिमा डीआईजीहरु घनश्याम अर्याल, प्रकाशजंग कार्की र ईश्वरबाबु कार्कीले उजुरी दिएका थिए। समितिले बढुवा सिफारिस समितिकै निर्णय सदर गरेपछि सरकारले उनीहरुलाई एआईजी बनाउने निर्णय गर्यो।
सरकारको उक्त निर्णयसँगै आईजीपी शैलेश थापा क्षेत्रीले बढुवा भएका वसन्त पन्त, धीरजप्रताप सिंह र रवीन्द्र धानुकलाई एआईजीको फुली लगाइदिएका छन्। योसँगै भावी आईजीका प्रतिस्पर्धीको संख्या चार पुग्ने भएको छ। यद्यपि, उजुरी सुन्ने समितिबाट समेत न्याय नपाएको भन्दै अर्याल र कार्कीद्वयले सर्वोच्च अदालतमा आजै रिट दायर गरेका छन्। उक्त रिटमा तत्कालै अन्तरिम आदेश नदिएको अवस्थामा हाल बढुवा भएकामध्ये सिंह र धानुक समेत आईजीको दौडमा प्रवेश गर्नेछन्।
अहिले बढुवा भएकासँगै नेपाल प्रहरीमा प्राविधिक बाहेक एआईजीको संख्या ८ छ। जसमा अहिले बढुवा भएका तीन र हरि पाल, निरज शाही, प्रद्युम्न कार्की, विश्वराज पोखरेल र सहकुल थापा गरी ८ एआईजी छन्।
उनीहरुमध्ये आउँदो वैशाख १८ गते ३० वर्षे सेवा अवधिका कारण आईजी थापासँगै उनका ब्याची एआईजीहरु पाल, शाही, कार्की र पन्त अवकाशमा जानेछन्। त्यसपछि पोखरेल, थापा, सिंह र धानुक एआईजी रहनेछन्। वैशाख ३० गते तोकिएको स्थानीय चुनावको पूर्वसन्ध्यामा यी चारमध्ये एकलाई सरकारले आईजीपीमा बढुवा गर्नेछ। यी चारमध्ये पहिलो नम्बरमा हाल बढुवा भएकाहरूभन्दा झण्डै डेढ वर्ष सिनियर पोखरेल छन्।
महानगरीय प्रहरी कार्यालयमा एआईजी रहने भन्दै २०७७ मंसिरमा एक एआईजीको दरबन्दी थप भएको थियो। उक्त दरबन्दीमा पोखरेलको एकल बढुवा भएको थियो। एकल बढुवा भएकाले पोखरेल आईजीपीका एकल दाबेदार थिए। त्यसको सात महिनापछि पुनः अर्को एक एआईजीको दरबन्दी थप गरी थापालाई एआईजीमा बढुवा गरिएको थियो। पोखरेलसँगै आईजीको प्रतिस्पर्धामा थापा पनि छिरेका थिए।
पोखरल एआईजीको भएको झण्डै डेढ वर्षपछि पुनः एआईजीको दरबन्दी थप गरेर सरकारले सिंह र धानुकलाई एआईजी बनाएको छ। योसँगै चुनावको पूर्वसन्ध्यामा आईजीको दौडमा चार भाइको इन्ट्री भएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।