काठमाडौं- राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजसंस्थाको अजेन्डा छाड्न राप्रपाको नेतृत्वलाई आग्रह गरेका छन्।
बिहीबार सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै उनले पहिले आफैंलाई राजसंस्थाको अजेन्डा छाडौँ भन्नेहरुले अहिले गाली गरिरहेको बताएका छन्।
'२०६३/६४ ताका 'मरेको लास नबोकौँ दाइ' भनेर सल्लाह दिने भाइहरु अहिले पार्टी कब्जा गरेर मलाई धुवाँधार गालीको वर्षा गरिरहेको देख्दा हाँसो लाग्छ', थापाले लेखेका छन्, 'गालीगलौजको सट्टा निर्मल निवासलाई सोध्नोस्- गत १५ वर्षमा राजसंस्था पुनःस्थापना गर्न राजाको के भूमिका रह्यो? पटकपटक राप्रपा कमजोर पार्ने काम किन भयो?'
उनले असम्भव अजेन्डा बोकेर आफ्नो र युवाहरूको भविष्यमाथि खेलवाड गर्ने काम छोड्न भनेका छन्। 'मैले त छोडेँ', उनले लेखेका छन्, 'हेरिराख्नु होला, केही वर्षपछि भाइहरु पनि मेरै बाटोमा आउनुपर्छ।'
उनले आफूलाई राजसंस्थाको माया लाग्ने भए पनि 'उनको' व्यवहार र सोचाइ नै गलत भएको बताएका छन्।
थापाले राप्रापाको महाधिवेशनमा पूर्वराजाको हस्तेक्षप भएको भन्दै विरोध गर्दै आएका छन्। अध्यक्षमा राजेन्द्र लिङ्देनसँग पराजित भएपछि उनले छानबिनको माग गर्दै आएका थिए। तर, त्यसको सम्भावना नदेखेपछि उनले पार्टी परित्याग गरी राप्रपा नेपाल गठन गरेका छन्।
थापा २०६२/६३ को जनआन्दोलनपछि सम्पूर्ण राजनीतिक माहोल गणतान्त्रिक हुँदा पनि एकल रुपमा राजसंस्थाको पक्षमा उभिँदै आएका थिए। तर, पछिल्लो समय उनले राजसंस्था पुनःस्थापनाको माग छाडेर हिन्दूराज्यको पक्षमा उभिन थालेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।