काठमाडौं– प्रधानमन्त्री शेरबहादुर देउवाले पछिल्लो समयमा सार्वजनिक सञ्चार माध्यमबाट मिथ्या र भ्रमपूर्ण सूचना जारी हुन थालेको भन्दै चिन्ता व्यक्त गरेका छन्।
रिपोर्टस् क्लबको २४औं वार्षिकोत्सवमा बोल्दै प्रधानमन्त्री देउवाले सार्वजनिक सञ्चार माध्यममा आउन थालेका यस्ता समाचारले चौथो अङ्ग भनिने सार्वजनिक सञ्चार माध्यमको विश्वसनियतामा प्रश्न उठाउने बताए।
‘पछिल्लो समय मिथ्या र भ्रमपूर्ण सूचनाहरु आउन थालेका छन्। मुलुकको विकासका लागि सञ्चार माध्यमको भूमिका निकै महत्त्वपूर्ण हुन्छ,’ उनले भने, ‘यसलाई राज्यको चौथो अङ्ग पनि भनिएको छ, त्यसैले विश्वसनियता कायम गर्ने चुनौती पनि देखिएको छ।’
साथै, उनले अहिले रहेको गठबन्धन कायम रहनेसमेत बताए। नेपाली कांग्रेसले भर्खरमात्रै निर्वाचनमा गठबन्धन गरेर जाने निर्णय गरेको भन्दै कुनै पनि हालतमा गठबन्धन कायमै रहने उनले बताए। अप्ठ्यारो परेमा आफू मिलाउन लाग्ने भन्दै उनले वैशाख ३० मा हुने निर्वाचन र त्यसपछि पनि गठबन्धन कायमै रहनेतिर संकेत गर्दै यस्तो बताएका हुन्।
यसअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि गठबन्धन गरेरै निर्वाचनमा जाने बताएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।