काठमाडौं– कोभिड संक्र्रमणको अवस्था सामान्य बन्दै गएपछि हिमालपारीको जिल्ला मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटकको चाप बढेको छ। स्थलमार्ग र हवाईमार्गबाट गरी दैनिक करिब तीन हजार पर्यटक मुस्ताङ भित्रिन थालेपछि व्यवसायी उत्साहित बनेका छन्।
आन्तरिक तथा बाह्य पर्यटकका लागि आकर्षणको केन्द्रका रूपमा रहेको मुस्ताङमा दैनिक उडान हुन थालेका जोमसोम विमानस्थलले जनाएको छ। त्यसैगरी म्याग्दी सदरमुकाम बेनीदेखि यातायातका साधनमार्फत मुस्ताङ जानेका कारण बेनी–जोमसोम सडकमा सवारी साधनको बाक्लो लाइन देखिन्छ।
विगत दुई वर्षयता कोभिड–१९ सङ्क्रमणको जोखिमका कारण सुनसान बनेको मुस्ताङमा अहिले पर्यटकको उपस्थिति हवाई र स्थलमार्ग दुवैबाट बाक्लो बनेको पर्यटन व्यवसायीले बताएका छन्।
मुस्ताङ घुम्नका लागि उपयुक्त मौसम सुरु भएकाले पनि आन्तरिक तथा बाह्य पर्यटकको यहाँ भीड बढ्न थालेको व्यवसायीकोे भनाइ छ।
त्यसैगरी उपल्लो मुस्ताङको लोमान्थाङमा लगाउने तिजी मेलाको रौनक पनि सुरु भएकाले देश विदेशमा रहेका मुस्ताङ्गी पनि जिल्ला फर्कन थालेका छन्।
कोभिडका कारण पर्यटक नआएपछि लामो समयसम्म सुनसान बनेको मुस्ताङको पर्यटन र होटेल व्यवसाय अहिले पुरानै लयमा फर्किन थालेको कागबेनीका होटल व्यवसायी बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।