चितवन– नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नारायणी नदी किनारका जनता त्रासबाट मुक्त भएको बताएका छन्। नारायणी नदी नियन्त्रण आयोजनाको शिलान्यास समारोहमा बोल्दै उनले नदी कटानको समस्या र नागरिकले भोग्नुपरेको पीडा अब अन्त्य भएको बताएका हुन्।
आफूले पहिलोपटक प्रधानमन्त्री हुँदा ल्याएको जनता तटबन्धन कार्यक्रम कार्यान्वयनमा आएको बताउँदै उनले अब नारायणी नदी किनारका जनता त्रासबाट मुक्त भएको दाबी गरे।
'वर्षा सुरु भएसँगै पानी पर्दा नारायणी नदीमा बाढीको बहाव आउँदा काठमाडौँ बस्दा पनि डुबान, कटान के भयो होला ? त्यस भेगका नागरिक मतदाता के गर्दै होलान् भन्ने चिन्ता भई नै रह्यो,' प्रचण्डले भने। आफूले जनतासँग गरेको वाचा पुरा गरेको पनि प्रचण्डको भनाइ छ।
नारायणी नदी नियन्त्रण तथा तटबन्धन कार्यक्रम सम्पन्न हुँदा यो क्षेत्र सहर र विकासको केन्द्र हुने उनको भनाइ थियो। भरतपुरको विकास देशकै एक मोडेलको रूपमा स्वदेश र विदेशमा चर्चा हुने गरेको प्रचण्डले दाबी गरे।
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले यस आयोजना निर्माणका लागि मन्त्रालयको आन्तरिक स्रोत परिचालन गरिएको बताइन्। विगतमा अभिशाप बनेको नारायणी तटीय क्षेत्र तटबन्धन सम्पन्न हुँदा बरदानको रूपमा परिणत हुने उनको भनाइ थियो। आयोजना सम्पन्न हुँदा २९० बिघा जमिन संरक्षण हुने र केही रकम लागत खर्च वापत लिएर सो क्षेत्र उकास भएको जमिन सम्बन्धित जग्गा धनीलाई नै दिने आयोजनाको लक्ष्य रहेको उनले जानकारी दिइन्।
तोकिएकै समयमा गुणस्तरीय ढङ्गले काम सम्पन्न गर्न निर्माण व्यवसायी र सम्बन्धित कर्मचारीलाई मन्त्री भुसालले निर्देशन दिइन्।
भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले यो आयोजना सम्पन्न हुँदा नदी तटीय क्षेत्रका नागरिकले कहिलै दुःख भोग्नुनपर्ने बताइन्। यो आयोजनाले नागरिकको धन जनाको रक्षा गरेको भन्दै आफूले निर्वाचनका बेला गरेको बाचा पूरा गरेको उनको भनाइ थियो।
४ अर्ब ३२ करोडको लागतमा सुरू भएको नदी नियन्त्रण कार्य दुई वर्षमा सम्पन्न गरिसक्ने लक्ष्य लिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।