काठमाडौं- नेपालका लागि अमेरिकाका नयाँ राजदूतमा डिन थोम्प्सनलाई प्रस्ताव गरिएको छ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले थोम्प्सनलाई नेपालका लागि नयाँ राजदूतका रूपमा प्रस्ताव गरेका हुन्। लामो समयदेखि अमेरिकी कूटनीतिक सेवामा रहेका थोम्प्सनलाई नयाँ राजदूतका रूपमा प्रस्ताव गरिएको अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले जनाएको छ।
कूटनीतिज्ञका रूपमा थोम्प्सनले अमेरिकी विदेश मन्त्रालयका विभिन्न पदमा रही २५ वर्षभन्दा बढी सेवा गरिसकेका छन्। उनी अहिले अमेरिकी विदेश मन्त्रालयको दक्षिण तथा पूर्वी एसिया विभागमा प्रिन्सिपल डेपुटी असिस्टेन्ट सेक्रेटरी का रूपमा कार्यरत छन्।
अमेरिकी सिनेटले नाम अनुमोदन गरेपछि उनी नेपालका लागि राजदूत नियुक्त हुनेछन्। यससँगै हालका राजदूत र्याण्डी बेरी प्रतिस्थापन हुने छन्।
यसअघि, थोम्प्सन मलेसियाको क्वालालम्पुरस्थित अमेरिकी दूतावासको डेपुटी चिफ अफ मिसन र बुखारेस्ट, रोमानियामा रहेको अमेरिकी दूतावासको मिसनका डेपुटी चिफ र चार्ज डी अफेयर्स थिए। थोम्प्सन भारतको कोलकातास्थित अमेरिकी महावाणिज्य दूतावासका महावाणिज्य दूत पनि भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।