काठमाडौं– युक्रेन र रुसबीच जारी भिषण युद्धको असर भारतीय खाद्य तेल बजारमा देखिन थालेको छ। समाचार एजेन्सी रोयटर्सका अनुसार भारतीय व्यापारीहरूले उच्च मूल्यमा सूर्यमुखी तेल किन्न रुसी निर्यातकर्ताहरूसँग सम्झौता गरेका छन्।
भारत विश्वमा खाद्य तेलको सबैभन्दा ठूलो आयातकर्ता हो। इन्डोनेसियामा पाम तेलको निर्यातमा प्रतिबन्ध र दक्षिण अमेरिकामा कम भटमासको उत्पादनका कारण खाद्य तेलको माग आपूर्तिभन्दा बढेको छ।
यस्तो अवस्थामा रुसबाट सूर्यमुखी तेल आउने भएकाले व्यापारीले तत्काल राहत पाउन सक्छन्। रुसबाट १२ हजार टन किन्न ठेक्का लिएको जेमिनी एडिबल्स एन्ड फ्याट्स इन्डिया प्रालिका प्रबन्ध निर्देशक प्रदीप चौधरीले जानकारी दिए। युक्रेन हुँदै आयात गर्न नसकिने भएकाले रुसबाट आपूर्ति सुनिश्चित गर्न क्रेताले पहल गरिरहेको उनले बताए।
तेल प्रशोधन कम्पनीहरूले युक्रेनी युद्ध सुरु हुनुअघि प्रति टन १,६३० डलरको तुलनामा २,१५० डलर प्रति टनमा सूर्यमुखी कच्चा तेल किन्न सम्झौता गरेका छन्। चौधरीले युक्रेनमा द्वन्द्व सुरु हुनुअघि पाम तेलभन्दा सूर्यमुखी तेल सस्तो छ। तर, युक्रेनका प्रमुख निर्यातकर्ताबाट आपूर्ति बन्द भएकाले खरिदकर्ताले महँगो मूल्यमा तेल खरिद गर्नुपर्ने बताए।
काला सागर क्षेत्रले विश्वको ६० प्रतिशत सूर्यमुखी तेल उत्पादन गर्छ र ७६ प्रतिशत यही क्षेत्रबाट निर्यात हुन्छ। नयाँदिल्लीस्थित ग्लोबल ट्रेडिङ फर्मका डिलरले भारतीय क्रेताले झण्डै एक महिनादेखि तेल खरिद गर्न बन्द गरेको बताएका छन्।
तर, अहिले आयातका लागि बैंकहरूले ऋणपत्र जारी गर्न थालेपछि व्यापारीहरूले रुसबाट सूर्यमुखी तेल आयात गर्न थालेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।