काठमाडौं– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक दुई घण्टा ढिलागरि सुरु भएको छ। दिउँसो ३ बजेका लागि बोलाइएको बैठक बेलुका ५ बजेपछि मात्र सुरु भएको हो। बैठक केन्द्रीय कार्यालय सानेपामा जारी छ।
आउँदो स्थानीय निर्वाचनमा गठबन्धन गर्ने/नगर्ने विषयमा कांग्रेसभित्र मतभेद छ। तर, कांग्रेस गठबन्धन गर्ने दिशातर्फ नै अघि बढेको छ।
मंगलबार दिउँसो पनि उपसभापति पूर्णबहादुर खड्का र महामन्त्रीद्वय गगन थापा तथा विश्वप्रकाश शर्मा बसेर गठबन्धन गर्ने निर्णयको मस्यौदा तयार पारेका थिए। त्यसपछि केन्द्रीय समिति बैठकअघि पदाधिकारी बैठक बसेको थियो।
मस्यौदा निर्माणमा समय लागेपछि केन्द्रीय समिति बैठक ढिलागरि सुरु भएको सानेपामा भेटिएका एक नेताले बताए।
धेरैजसो नेताले लोकतान्त्रिक मूल्यमान्यता रक्षाका लागि विशिष्ट परिस्थितिमा कांग्रेसको नेतृत्वमा गठबन्धन सरकार बनेकाले त्यही अनुसार चुनावी तालमेल गर्दा उपयुक्त हुने धारणा राखेका छन्।
स्थानीयस्तरमा पार्टीको अवस्था र आवश्यकताका आधारमा चुनावी तालमेल गरेर जाँदा पार्टी मजबुत हुने र आउँदो संसदीय चुनावमा पनि कांग्रेसले जित्ने धेरैको सुझाव आएको प्रवक्ता प्रकाशशरण महतले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।