काठमाडौं- नेपाली कांग्रेस केन्द्रीय कार्य समिति बैठकअघि पदाधिकारीको बैठकले गठबन्धनबारेको निर्णयको मस्यौदालाई अन्तिम रुप दिने भएको छ। कांग्रेस केन्द्रीय कार्यालय सानेपमा मंगलबार जारी पदाधिकारी बैठकमा सभापति शेरबहादुर देउवा ढिलोगरी प्रवेश गरेका छन्।
देउवा बाहेकका पदाधिकारीहरु भने केही समयअघि देखि नै बैठक बसिरहेका छन्। तालमेलको विषय पदाधिकारीमा 'क्लियर' गरेर केन्द्रीय कार्य समिति बैठकमा लैजाने तयारी छ।
उपसभापति पूर्णबहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा भएर तयार पारिएको मस्यौदामाथि यसअघि पूर्व पदाधिकारी र पदाधिकारीबीच छलफल भएको थियो। स्थानीय आवश्यकताका आधारमा गठबन्धन गर्ने कुरामा लगभग सहमति जुटेको बुझिएको छ।
यसैगरी स्थानीय तहका उम्मेदवारलाई टिकट दिने केन्द्रीय संसदीय बोर्डको गठन पनि आजै गर्ने तयारी छ। त्यहाँ समेटिने नामका विषयमा पनि छलफल भइरहेको छ।
तयार पारिएको मस्यौदामा देउवाले आफ्ना धारणा राखेपछि केन्द्रीय समितिको बैठकमा प्रस्तुत गर्ने तयारी छ। पदाधिकारीमा सहमति जुटाएर मात्रै केन्द्रीय समितिमा अनुमोदनका लागि लैजाने भएकाले ३ बजेका लागि तोकिएको बैठक पाँच बज्नै लाग्दासमेत सुरु हुन सकेको छैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।