काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले छिमेकी देश भारतको भ्रमण गर्दै छन्।
प्रधानमन्त्री देउवाले यही चैत १८, १९ र २० गते छिमेकी देश भारतको भ्रमण गर्न लागेका छन्। मंगलबार परराष्ट्र मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गर्दै मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले प्रधामन्त्रीको भारत भ्रमणका बारेमा जानकारी दिएकी हुन्।
उनले भ्रमणको सम्बन्धमा आवश्यक तयारी अगाडी बढिरहेको बताइन्। श्रीलंकाको कोलम्बोमा सुरु भएको बिमस्टेक सदस्य राष्ट्रहरुको पाँचौ शिखर सम्मेलनमा भाग लिन पुगेका परराष्ट्रमन्त्री डा. नारायण खड्काले मंगलवार नै १८ औँ विमस्टेकको मन्त्रिस्तरीय सम्मेलनलाई सम्बोधन गरिसकेको प्रवक्ता लम्सालले बताइन्।
मन्त्री खड्काले भारतीय समकक्षीसँग पनि साइडलाइन भेटवार्ता गरेको उनले जानकारी दिइन्। विमस्टेक शिखर सम्मेलनमा बुधबार प्रधानमन्त्री देउवाले भर्चुअल रुपमा सम्बोधन गर्ने कार्यक्रम रहेको पनि उनले बताइन्।
सो सम्मेलनमा बिमेस्टेकको वडापत्र, आपराधिक मामिलामा आपसी कानूनी सहायता सम्बन्धी विमस्टेक महासन्धी, श्रीलंकाको कोलम्बोमा विमस्टेक प्रविधि हस्तान्तरण संरचना स्थापना सम्बन्धी आवद्धताको सम्झौता र कुटनीतिक तालमेलका क्षेत्रमा आपसी सहयोग सम्बन्धी बिमेस्टेक समझदारी पत्र गरी चारवटा दस्तावेजहरुमा हस्ताक्षर हुने अपेक्षा गरिएको प्रवक्ता लम्सालको भनाइ छ।
उनले मार्च २५ देखि २७ सम्म चीनका विदेशमन्त्री वाङ यी ले नेपालमा गरेको भ्रमणका क्रममा ९ वटा विषयमा सम्झौता भएको बताइन्।
भ्रमणका क्रममा दुई देश बीचको पारस्परिक हितलाई प्रवर्धन गर्ने विषयमा छलफल भएको उनले बताइन्। उनले भनिन् ‘२५ देखि २७ मार्चमा भ्रमण सम्पन्न भयो। २० सदस्यीय प्रतिनिधि मण्डलको नेतृत्व गर्नुभएको थियो। ९ वटा विषयमा एग्रिमेन्ट भयो। यो वार्ता हाम्रो लागि असाध्यै महत्वपूर्ण थियो। किनकी छिमेकी, पावरफुल कन्ट्री। लामो समयदेखि भिजिट हुन सकेको थिएन। छिमेकीको भ्रमणलाई हामीले सधै नै उच्च प्राथमिकता र उच्च महत्व दिइ आएका छौँ। दुई पक्षिय सम्बन्धका धेरै विषयमा हाम्रो छलफल भयो । पारस्परिक हितलाई प्रवद्र्धन गर्ने, यसमा पनि व्यापार, पर्यटन, कनेक्टिभिटी, कनेक्शन, कल्चर, जि टू जिका मेकानिजमहरु पि टू पि, बि टू बि । सबै विषयमा हाम्रो असाध्यै सौहार्दपूर्ण तरीकाले वार्ता सम्पन्न भयो।’
नेपालले गणतन्त्र पलाउ र दक्षिण सुडान कुटनीतिक सम्बन्ध कायम गरेको प्रवक्ता लम्सालले जानकारी दिइन्। यससँगै नेपालको १७५ देशसँग कुटनीतिक सम्बन्ध स्थापना भएको उनको भनाइ छ। यसका साथै नेपालको परराष्ट्र मन्त्रालय र दक्षिण अफ्रिकाको परराष्ट्र मन्त्रालयबीच द्धिपक्षीय परामर्श संयन्त्रको स्थापना गर्ने सम्झौतामा दुई देशका परराष्ट्र सचिवको स्तरमा हस्ताक्षर भएको पनि उनले उल्लेख गरिन्।
नेपाल र बंगलादेशका परराष्ट्र सचिव स्तरीय तेस्रो बैठक आगामी अप्रिल ११ देखि १३ सम्म पोखरामा हुने पनि उनले जानकारी दिइन्। यसबिचमा परराष्ट्र मन्त्रालयले नेपालबाट बाहिर पुगेका पुरातात्विक महत्वका ७९ वटा सम्पदाहरु स्वदेश फर्काएको पनि जनाएको छ। जसमध्ये तिब्बतबाट २८, कलकत्ताबाट १३, बेलायतबाट १९, अमेरिकाबाट १७, अष्ट्रियाबाट १ र जर्मनीबाट १ थान सम्पदा नेपाल फिर्ता ल्याइएको लम्सालले जानकारी दिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।