काठमाडौं– नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले गर्ने निर्णयको मस्यौदा तयार भएको छ। उपसभापति पूर्णबहादुर खड्काको कार्यकक्षमा बसेर स्थानीय तहको निर्वाचनमा ‘गठबन्धन गर्ने’ निर्णयको मस्यौदा तयार गरिएको बताइएको छ।
निर्णयको मस्यौदा गर्नेमा उपसभापति खड्काका साथै महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालगायतका नेता रहेका छन्। केन्द्रीय कार्यसमितिमा अधिकांश केन्द्रीय सदस्यले प्रस्तुत गरेका मतलाई मध्यनजर गरेर निर्णय तयार पारिएको हो।
विशेषगरी आगामी निर्वाचनमा गठबन्धन गर्ने वा नगर्ने भन्ने विषय कांग्रेसमा पेचिलो बनेको छ। संस्थापनइतर समूह गठबन्धनको विपक्षमा छ। पार्टी सभापति शेरबहादुर देउवा कुनैपनि हालतमा गठबन्धन गर्नुपर्नेमा जोड दिइरहेका छन्।
उपसभापति खड्काको कार्यकक्षमा तयार निर्णयको मस्यौदामा गठबन्धन गरेर जाने उल्लेख छ। गठबन्धनको आवश्यकता, औचित्य र मोडालिटीका विषयमा भने ‘व्याख्यात्मक टिप्पणी’ समेटिएको बुझिएको छ।
त्यसअघि कांग्रेस केन्द्रीय कार्यालय सानेपामै उपलब्ध वर्तमान र पूर्वपदाधिकारीबीच छलफल भएको थियो। उक्त छलफलमा पनि निर्णयको मस्यौदाका विषयमा नेताहरूले आफ्नो राय प्रस्तुत गरेका थिए। प्राय: नेताहरूले गठबन्धन गर्ने तर, त्यसको निर्णयको अधिकार स्थानीय समितिहरूलाई दिनुपर्ने जोड दिएका थिए।
गठबन्धन केन्द्रबाट नभइ स्थानीय आवश्यकताका आधारमा गर्नेगरी सहमति जुटाउने तयारी संस्थापन पक्षको रहेको छ। धेरै केन्द्रीय सदस्यले स्थानीय आवश्यकताअनुसार गठबन्धन गर्न सकिने निर्णय हुनुपर्ने बताइरहेका छन्।
महानगर र उपमहानगर बाहेकका पालिकाको गठबन्धन मोडालिटी र आवश्यकता स्थानीय समितिहरुले औंल्याएर जिल्ला कार्य समितिले टुंग्याउनेगरी निर्णय हुन सक्ने बताइएको छ।
बैठक दिउँसो ३ बजेदेखि सुरु हुने भनिएपनि सभापति देउवा अझै बैठकस्थल पार्टी कार्यालय सानेपा पुगेका छैनन्। उपसभापति खड्काको नेतृत्वमा तयार निर्णयको मस्यौदा सभापति देउवाले पेस गर्नेछन्। उक्त मस्यौदामा छलफलपछि आवश्यक परिमार्जनसहित निर्णय हुनेछ।
बैठकले स्थानीय तहका उम्मेदवार टुंगो लगाउने केन्द्रीय संसदीय बोर्ड पनि गठन गर्ने बुझिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।