काठमाडौं- बेलारुसमा युक्रेन रुस वार्ताहरुमा हिस्सा लिएपछि फर्किएका रुसी अर्बपति रोमन अब्रामोभिचमाथि सन्दिग्ध 'विषको असरयुक्त लक्षण' देखिएको छ।
बीबीसीमा प्रकाशित समाचारका अनुसार उनले यसबारे आफ्ना नजिकका व्यक्तिलाई जानकारी दिएका थिए। उनको आँखा र छालामा समस्या देखिएको समाचारमा बताइएको छ।
चेल्सी फुटबल क्लबका मालिक अब्रामोभिच अहिले निको भइसकेका छन्। यस्तो समस्याले दुईजना युक्रेनी शान्ति वार्ताकार समेत प्रभावित भएको बताइएको छ।
एक समाचारले उक्त सन्दिग्ध विष प्रयोग वार्ता भाँड्नका लागि रुसमा रहेका कट्टरपन्थीले मञ्चन गरेको जनाएको छ।
ती आरोपहरू देखा पर्न थालेपछि एकजना नाम नखुलाइएका अमेरिकी अधिकारीले रोयटर्स समाचार संस्थासँग बोलेका थिए।
अब्रामोभिचमा देखिएका लक्षणलाई ती अधिकारीले विष प्रयोगका कारण नभइ 'वातावरणीय' पक्षले भएको आफ्ना गुप्तचरी सूचनाले सुझाएको बताएका छन्।
र त्यसपछि युक्रेनको राष्ट्रपति कार्यालयका एक अधिकारीले अब्रामोभिचसँग कुरा नगरेको भए पनि युक्रेनी प्रतिनिधिमण्डलका सदस्यहरू 'ठिक' भएको र उक्त खबर 'झुटो' रहेको बताएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।