काठमाडौं– नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति वीरबहादुर बलायरले सरकारकाे नेतृत्वमा कांग्रेस हुनुको सम्पूर्ण जस-अपजस नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई जाने बताएका छन्।
सोमबार राति अबेर बलायरले सामाजिक सञ्जालमार्फत् अहिले कांग्रेस नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीका कारण भन्दा पनि एमाले अध्यक्ष ओलीका कारण नेतृत्वमा रहेको बताएका हुन्। उनले कांग्रेसले वर्तमान गठबन्धनका दलहरुप्रति सदास्यता राखेपनि मिलेर स्थानिय तहको निवार्चनमा जान नहुने तर्क अगाडि सारेका छन्।
‘कांग्रेसको संसद्मा कहालीलाग्दो उपस्थिति छ। र, पनि सरकारको नेतृत्वमा कांग्रेस हुनुको सम्पूर्ण जस-अपजस ओलीलाई नै जान्छ,’ उनले लेखेका छन्,‘कांग्रेस वर्तमान गठबन्धनका दलहरुप्रति सदास्यता राख्दछ। तर, उनीहरुको पार्टी नै बचाइदिनको लागि आफ्नो पार्टीमा पेट्रोल खन्याउन सक्दैन!’
प्रधानमन्त्री तथा पार्टी सभापति शेरबहादुर देउवानिकट मानिने उनी सुदूरपश्चिममा गठबन्धन गर्न नसकिने बताउँदै आएका छन्। सोमबार डडेल्धुरामा आयोजित पत्रकार सम्मेलनमा पनि उनले सुदूरपश्चिममा गठबन्धन नगर्न कार्यकर्ताले दबाब दिइरहेको बताएका थिए।
‘म सुदूरका सबै जिल्लामा घुमिरहेको छु। हरेक जिल्लामा कार्यकर्ताले गठबन्धन नगर्न दबाब दिएका छन्। मेरो धारणा पनि यही हो‚’ उनले भनेका थिए। गठबन्धन गर्दा कांग्रेसको मौलिक चरित्र नै समाप्त हुने सुझाव आफूलाई आएकाे उनकाे भनाइ छ। केन्द्रीय सभापति देउवा भने गठबन्धनकाे पक्षमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।