काठमाडौं– नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले एमाले अध्यक्ष केपी शर्मा ओलीले राजावादी शक्तिहरुसँग भेटेर खतरनाक योजना बनाउने गरेको बताएका छन्।
सोमबार काठमाडौंमा युवा संघ नेपालको केन्द्रीय सचिवालय बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले नेकपा (एमाले)का अध्यक्ष ओली राजावादी शक्तिहरुसँग मध्यरातमा अज्ञात ठाउँमा बसेर खतरनाक योजनाहरु बनाउने गरेको आरोप लगाएका हुन्। केहीदिन पहिले पनि नेपालले ओलीलाई राजवादीसँग मिलेको आरोप लगाएका थिए।
ओली विगतदेखि नै गणतन्त्रको पक्षमा नभएको पनि नेपालले बताए। उनले तत्कालीन एमालेमा आफ्नो पक्षमा रहेका ‘दश भाइ’ नेताहरुकै सहारा र सहयोगमा ओलीविरुद्ध लागेको भएपनि आफूले उनीहरुबाट धोका पाएको गुनासो गरे।
अध्यक्ष नेपालले तत्कालीन समयमा आफू ओलीका विरुद्धमा चट्टानी अडानका साथ उभिएको पनि स्मरण गरे। नेपालले ओलीसँग विद्रोह गर्न नसकेकाहरु एमालेमा निरीह भएर बसेको टिप्पणी गरे।
उनीहरुलाई कमिटीमा एक शब्द पनि बोल्न नदिइएको, छलफल र परामर्शमा भाग लिन नदिएको भन्दै उनले आफूहरु त्यसैगरी बेइज्जत नहुनका लागि एमाले छाडेको बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।