काठमाडौं- पूर्वमन्त्री तथा सांसद् बृजेशकुमार गुप्ताले नेकपा (एमाले) प्रवेश गर्दै देश दुई दलीय प्रणालीमा गएको बताएका छन्। हृदयश त्रिपाठी नेतृत्वको जनता प्रगतिशील पार्टी परित्याग गरि एमाले प्रवेश गरेका उनले सोमबार अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका लगाउँदै पार्टी प्रवेश गरेका हुन्।
कपिलवस्तुको तौलीहवामा सोमबार आयोजित कार्यक्रममा बोल्दै उनले भने, 'अन्य पार्टीहरु बन्दै फुट्दै सकिँदैछन्। देश दुई पार्टीतर्फ गयो। एक कांग्रेस हो, अर्को एमाले।'
उनले राणा शासनदेखि गणतन्त्र नेपालसम्म पुग्दा पनि उत्पीडन कायम रहेको बताए। त्यो उत्पीडनबाट मुक्ति दिलाउने काम एमालेले गर्ने भएकाले आफू पार्टी प्रवेश गरेको बताए। उनले भने, 'देशका जतिपनि उत्पीडित वर्ग छन्। उनीहरुको समस्याको समाधान हुन्छ। एमालेबाट हुन्छ।'
प्रदेश सांसद धर्मबहादुर श्रीवास्तव, कपिलवस्तु नगपालिका–१ का वडाअध्यक्ष सुदीप पौडेल, वडा नम्बर ४ का वडाअध्यक्ष रविन्द्र त्रिपाठी, वडा नम्बर १२ का वडाअध्यक्ष ओमप्रकाश पाण्डेय पनि एमाले प्रवेश गरेका छन्।
त्यस्तै, बुद्धभूमि नगरपालिका–६ का वडाअध्यक्ष नन्दलाल यादव, यशोधरा गाउँपालिका–८ का वडाअध्यक्ष शहबुद्धिन मुसलमान, कपिलवस्तु नगरपालिकाका पूर्वमेयर रामदास गुप्ता, पूर्वउपमेयर वासुदेव कसौधन, कृष्णनगरका युवानेता कुनालप्रताप शाहलगायतका नेता तथा कार्यकर्ता एमालेमा प्रवेश गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।