काठमाडौं- नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले भोलि ३ बजे केन्द्रीय समिति बैठक पुन: बस्ने र उक्त बैठकले आएका सुझावहरुको आधारमा गठबन्धनबारे प्रस्ताव पारित गर्ने बताएका छन्।
पार्टी कार्यालय सानेपामा जारी केन्द्रीय कार्यसमितिको बैठकपछि कांग्रेस प्रवक्ता महतले तीन दिनसम्म चलेको बैठकमा सवैथरीको सुझाव आएको बताए।
‘केन्द्रीय समिति बैठकमा बोल्ने अधिकांश साथीहरुबाट आवश्यक स्थानमा तालमेल गरेर जाँदा पार्टी मजबुत हुने सुझाव आएको छ’ उनले भने ‘कतिपय साथीहरुको मत गठबन्धन नगरिकन एक्लै निर्वाचनमा गएर पार्टीको मत परीक्षण गर्नुपर्छ भन्ने पनि छ । तर अधिकांशहरुको मत गठबन्धन गरेर कहाँ गर्ने र कहाँ नगर्ने निक्र्यौल गर्नुपर्ने सुझाव आएको छ।’ त्यस्तै गठबन्धन गर्दा पार्टीको उक्त स्थानको अवस्था समेत हेर्नुपर्ने सुझाव आएको उनले बताए। बैठकमा आएको सुझाव अनुसार निर्णय लिनका लागि भोलीको बैठकले एउटा प्रस्ताव तयार गर्ने अनि त्यसलाई नै केन्द्रीय समिति बैठकबाट पारित गर्ने उनले बताए।
नेपाली कांग्रेस जिताऔं अभियान अन्तर्गत जिल्ला जिल्लामा पुगेका नेताहरुको कुरा सुनिएको भन्दै उनले पार्टीको यथार्थ अवस्थाको बारेमा जानकारी आएको बताए। अब यसकै आधारमा बैठकले निर्णय लिने उनले बताए। प्रवक्ता महतले विशिष्ट परिस्थितिमा बनेको गठबन्धन भएको र एमाले अध्यक्ष केपी शर्मा ओलीले गरेको असंवैधानिक कार्यको विरोधमा गठबन्धन भएकाले यसलाई निरन्तरता दिनुपर्ने आवाज धेरै आएको दाबी गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।