काठमाडौं- केपी ओलीले पटकपटक भनिरहन्छन्- माओवादी केन्द्रका अध्यक्षलाई धुँदा धेरै बाल्टिन/ड्रम पानी खर्च भयो। तर उनी उस्तै रहे।
गत चैत १२ गते एमाले निकट नेपाल मुस्लिम इत्तेहाद संगठनको छैटौँ राष्ट्रिय महाधिवेशनमा सम्बोधन गर्दै ओलीले भनेका थिए- 'प्रचण्डलाई अलिक सच्याउन सकिन्छ कि भनेर ल्याइयो। मैले पहिले पनि भनेँ, ड्रमका ड्रम पानी खर्च भयो। डल्लाका डल्ला साबुन खर्च भयो। धुँदाधुँदा।'
ओलीले प्रचण्डलाई पखाल्दा बागमती नै मैलो भएको पनि बताए। 'बागमती नै मैलियो, माओवादीलाई पखाल्दा पखाल्दा, साबुन लाउँदा लाउँदा। ल्याएर घरमै ल्याएर पनि कोसिस गरियो। तर अन्तिममा बागमती मैलियो।'
गत पुस १५ गते पनि ओलीले सुदूरपश्चिमका कार्यकर्ताको भेलामा सम्बोधन गर्दै भनेका थिए- ‘तीन वर्षमा डल्लाका डल्ला साबुन खर्च भयो। ट्यांकीका ट्यांकी पानी खर्च भयो। साबुन लगायो पखाल्यो प्रचण्ड जस्ताको त्यस्तै।’
सोमबार एक कार्यक्रममा प्रचण्डले ओलीलाई धोएको तर खलनायक भएर निस्किएको बताए। सोमबार रोल्पामा आयोजित सभामा बोल्दै उनले भने- 'जसलाई हामीले धोइपखाली गरेर राम्रो बनाउन सकिएला कि भन्ठानेका थियौँ। जसलाई नायक बनाउन सकिन्छ कि भन्ठानेका थियौँ। तर तिनी मान्छे खलनायक निक्ले। ती विदेशी दलाल देखापरे। र हामीले संघर्ष गर्नुपर्ने अवस्था आयो।'
प्रचण्डले नेपालमा ४०/५० वर्षसम्म कम्युनिस्ट शासन रहला भनेर तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनाएको बताए। 'हामीले जे सपना देखेर नेपाल कम्युनिस्ट पार्टी नेकपा बनाएका थियौँ। नेपालमा कम्युनिस्ट आन्दोलन लोकप्रिय छ। एउटै कम्युनिस्ट पार्टी बनाएर शान्तिपूर्ण ढंगले समाजवादतिर जान पाइयो भने ४०/५० वर्ष कम्युनिस्टहरु शासन रहला भनेर एकता गरेको थियौँ', उनको भनाइ थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।