काठमाडौं- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपालमा ४०/५० वर्षसम्म कम्युनिस्ट शासन रहला भनेर तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बनाएको बताएका छन्। तर, केपी शर्मा ओली खलनायक निस्किएको उनले बताए।
'हामीले जे सपना देखेर नेपाल कम्युनिस्ट पार्टी नेकपा बनाएका थियौँ। नेपालमा कम्युनिस्ट आन्दोलन लोकप्रिय छ। एउटै कम्युनिस्ट पार्टी बनाएर शान्तिपूर्ण ढंगले समाजवादतिर जान पाइयो भने ४०/५० वर्ष कम्युनिस्टहरु शासन रहला भनेर एकता गरेको थियौँ', सोमबार रोल्पामा आयोजित सभामा प्रचण्डले भने।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच २०७५ जेठ ३ गते पार्टी एकता भई नेकपा गठन भएको थियो। नेकपा गठन हुनुअघि र पछि पनि प्रचण्डले ५० वर्षसम्म कम्युनिस्ट शासन रहने उद्घोष गर्ने गरेका थिए। तर, ओली नेतृत्वको सरकार तीन वर्ष मात्रै टिकेको थियो।
'जसलाई हामीले धोइपखाली गरेर राम्रो बनाउन सकिएला कि भन्ठानेका थियौँ। जसलाई नायक बनाउन सकिन्छ कि भन्ठानेका थियौँ। तर, तिनी मान्छे खलनायक निक्ले। ती विदेशी दलाल देखापरे। र, हामीले संघर्ष गर्नुपर्ने अवस्था आयो', प्रचण्डले भने।
प्रचण्डले तत्कालीन नेकपामा चलेको अन्तरसंघर्षमा ओली पराजित भएको बताए। 'पार्टीको केन्द्रीय समितिको ७० प्रतिशत हाम्रो पक्षमा थियो। त्यसले प्रधानमन्त्री हटाउने र अध्यक्षबाट पनि केपी ओलीलाई हटाउने निर्णय गरेको थियो। बहुमत सांसद्हरुको हस्ताक्षर र ७० प्रतिशत केन्द्रीय सदस्यको निर्णय भएको थियो। तर, अन्तर्राष्ट्रिय र राष्ट्रिय प्रतिक्रियावादीको सेटिङ र षडयन्त्रले निर्वाचन आयोगले समयमा निर्णय नगरिदिँदा र संसद् सचिवालयले संसद्को बहुमतको निर्णयलाई रोकेर राखिदिँदा एउटा ठूलो दुर्घटनातिर देश जाने खतरा पैदा भयो', उनले भने।
ओलीले २०७७ पुस ५ र २०७८ जेठ ७ गते मध्यरातमा प्रतिनिधि सभा विघटन गरेका थिए। उनका विरुद्ध आन्दोलन चलेको थियो। सर्वोच्च अदालतले दुवैपटकको विघटन बदर गर्दै प्रतिनिधि सभा पुनर्स्थापना गरेको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।